देब पचभैया
काठमाडौं, १७ मंसिर – बुद्ध धर्ममा सबैभन्दा ठूलो ग्रन्धको पाठ गरिने तेङ्यूर पूजा भब्य रुपमा भइरहेको छ ।
विश्व शान्ति, पशु पन्छीको सुख शान्ति र भड्किएको आत्माको सुख शान्तिको लागि तेङ्यूर पूजाको आयोजना गरीएको आयोजक तमू बौद्ध सेवा समितिकी केन्द्रीय सदस्य लक्ष्मी गुरुङले बताइन् । २ सय १६ ठेलीको पुस्तक पढ्नुपर्ने उक्त पूजा जो सुकैले आयोजना गर्न नसक्ने उनले बताइन् । ‘तमू बौद्धले पहिलो पटक यो पूजा गर्ने आँट गरेको हो ।’ उनले भनिन् ।
तमू बौद्ध सेवा समितिले स्थापना कालको २५ वर्ष पूरा भएको उपलक्ष्यमा बुद्ध धर्म महायानीको सबैभन्दा ठूलो तेङ्यूर पूजाको आयोजना गरेको समितिका संस्थापक उपाध्यक्ष सतीदेबी गुरुङले बताइन् । एक सातासम्म गरिने पूजामा ८० जना लामाले ग्रन्ध पाठ, प्रवचन तथा पूजा गरीरहेका छन् ।
दैनिक सैयौं भक्तजनको उपस्थिती रहेको पूजामा आचार्य गुरु माया गुरुङ मुख्य रेन्पोछेंको रुपमा रहेकी छन् । एक सातासम्म संचालन गरिने पूजामा कम्तिमा १६ लाख रुपैंया खर्च हुने अनुमान गरीएको आयोजक संस्थाका अध्यक्ष रुपबहादुर गूरुङले जानकारी दिए । ‘पूजामा लाग्ने सबै खर्च चन्दा संकलन, ब्यक्तिगत सहयोग, भक्तजनको स्वइच्छाको चन्दाबाट ब्यबस्थापन गरिन्छ ।’
अध्यक्ष गुरुङले भने, पूजामा इच्छुक भक्तजनहरुलाई आइदिन र प्रसाद ग्रहण गरिदिन आग्रह गर्दछु । संस्थाले स्थापना दिवसको अवसरमा सरसफाइ तथा बृक्षारोपण कार्यक्र यसअघि नै सम्पन्न गरीसकेको जनाएको छ । संस्थाले आउदो फागुन महिनामा स्थापना दिवस भब्य रुपमा मनाउने कार्यक्रम रहेको जनाएको छ । मंसिर १३ गतेबाट शुरु भएको पूजा मंसिर २० गते रिन्पोछें थङकुबाट ओङ (आशिर्वाद) लिएपछि समापन हुने आयोजकले जनाएको छ ।
