रूद्र श्रीसमगर
पोखरा, ३ मंसिर – मगर संस्कृतिबारे अध्ययन गर्ने क्रममा भारतीय प्राध्यापक डा. नन्दिनी भट्टाचार्य पाण्डा पोखरा आइपुगेका छन् ।
बुधबार प्रा.डा. भट्टाचार्यले नेपाल मगर सङ्घ कास्की र बागलुङ–पोखरा मगर समाजका पदाधिकारी एवं अगुवाहरूसँग मगर संस्कृतिबारे अन्तरक्रिया समेत गरेका छन् । बुधबार बिहान प्रा.डा. केशरज· बरालमगरसँग अन्तरक्रिया गरेका प्राध्यापक भट्टाचार्यले दिउँसो नेपाल मगर सङ्घ कास्कीको सभाहलमा मगर अगुवाहरूसँग छलफल गरे ।
सो क्रममा मगरहरू कसरी सीमान्तकृत भए ?, मगर जातिको धर्म, चाडपर्व, संस्कृति, राजनीतिक पहुँच आदिका बारेमा प्राध्यापक भट्टाचार्यले अन्तरक्रिया गरेका थिए । विद्यावारिधि शोधार्थी विष्णुकुमार सिंजालीमगर र स्नातकोत्तर विद्यार्थी जीवनप्रवेश रोकामगर सँगै पोखरा आएका प्राध्यापक भट्टाचार्यले पृथ्वीनारायण क्याम्पसका अंग्रेजी विषयका सह–प्राध्यापक डा. मीन पुनसँग समेत अन्तरक्रिया गरे ।
प्राध्यापक भट्टाचार्य मगर जातिको उद्गमथलो मानिने रोल्पा पुगी काठमाडौं फर्कने कार्यक्रम छ ।
