कांग्रेसका कारण पोखरा बसपार्क बनेन : एमाले कास्की

Read Time:4 Minute, 11 Second

रूद्र श्रीसमगर

पोखरा, ३ मंसिर – नेपाली कांग्रेसका कारण पोखरा बसपार्क नबनेको नेकपा (एमाले) कास्कीले आरोप लगाएको छ ।

पोखरा बसपार्क निर्माणका बारेमा पोखरामा चर्चा सुरु भएका बेला पार्टीको धारणा सार्वजनिक गर्न बुधबार जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले कास्कीले पोखरा उपत्यका नगर विकास समितिमा १८ वर्षसम्म कांग्रेस नेतृत्वमा रहेपनि बसपार्क नबनाएको आरोप लगाएको हो ।

पोखरा बसपार्क निर्माणबारे पार्टीको तर्फबाट पाँच बुँदे अवधारणा प्रस्तुत गर्दै एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा बसपार्कलगायतका विकास, निर्माणका लागि अधिग्रहण गरिएको जग्गा पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको बताए ।

‘१८ वर्षदेखि समितिको नेतृत्व कांग्रेसको हातमा छ’, पोखरा उप–महानगरपालिकाका पूर्व मेयर समेत रहेएका थापाले भने, ‘तर, कांग्रेसले बसपार्क बनाएन ।’ पोखरा बसपार्क बनाउनका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको जनाउँदै पूर्व मेयर थापाले भन्नुभयो, ‘२०५ रोपनी जग्गामा हाइवेले १८ रोपनी लियो, बाँकी अतिक्रमण गरियो, अहिले झण्डै ८१ रोपनी जग्गा मात्रै बाँकी छ ।’

अहिले पोखरामा भएका विकास, निर्माणका काम सबै एमालेको भिजन अनुसार भएको दाबी गर्दै अध्यक्ष थापाले अत्याधुनिक र सुविधासम्पन्न सङ्घीय प्रदेशको राजधानी पोखरा बन्नुपर्ने धारणा राखे। पोखरालाई अन्तर्राष्ट्रिय मापदण्डको सहर स्वायत्त मेट्रोसिटी बनाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गर्दै उनले पोखरा बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी क्षेत्रफलमा नै बसपार्क बनाइनुपर्ने उल्लेख गरे ।

‘यसअघि पनि १२५ रोपनी जग्गामा बसपार्क बनाउने डिजाइन भएको छ’, थापाले भने, ‘२०६४ सालमा भएको सर्वदलीय सहमति अनुसार १२५ रोपनीमा सुरु गरी बसपार्क निर्माण गर्न १८७ रोपनीसम्मै पुग्नुपर्छ ।’ पोखरा उपत्यका नगर विकास समितिको काम जग्गा किनबेच गर्ने नभएको भन्दै उनले समितिले आफ्नो क्षेत्राधिकार बाहिर गएर पोखरा बसपार्कको जग्गा बेचेको उल्लेख गरे ।

जग्गा बेच्न पोखरा उपत्यका नगर विकास समितिको संस्थागत निर्णय नै नभएको उल्लेख गर्दै थापाले भने, ‘जग्गा बेचिएको छ, मान्छे मारिएको छ, त्यसको उच्चस्तरीय छानविन समिति बनाएर छानविन गरिनुपर्छ ।’ पोखरा बसपार्क निर्माण गर्न एमाले बाधक नरहेको भन्दै उनले बसपार्क क्षेत्रमा रहेको अव्यवस्थित बसोबासको छानविन गरी उचित प्रबन्ध मिलाउनुपर्ने बताए ।

‘नेपालकै अहिलेसम्म नभएको अत्याधुनिक बसपार्क बनाउनुपर्छ’, थापाले भने, ‘तर, गिरोहको षड्यन्त्रमा हामी सहमत छैनौं ।’ ‘एउटै मान्छे पटक पटक समितिमा जाने किन ? के कारण छ ?’, उनले भने, ‘जनताको अगाडि सबै पारदर्शी हुनुपर्छ, बसपार्क बनाउन हामी सही गर्न तयार छौं, २०५ रोपनी जग्गा कहाँ छ, त्यो खोज्नुपर्यो पहिले, तर, ८१ रोपनीमा हामी सहमत छैनौं ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %