अहिलेको निर्वाचन प्रणालीमा परिवर्तन चाहेका छौं : थापा

Read Time:4 Minute, 36 Second

राष्ट्रिय जनमुक्ति पार्टीको तमुवान राज्यस्तरीय कार्यकर्ता भेला

रूद्र श्रीसमगर

पोखरा, ३ मंसिर – राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले अहिलेको निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको बताएका छन्  ।

पार्टीको तमुवान राज्य परिषद् कार्यकर्ता भेलालाई बुधबार पोखरामा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका अध्यक्ष थापाले सबै जाति, वर्ग र समुदायलाई राज्यको मूलधारमा ल्याउन निर्वाचन प्रणालीमा सुधारको खाँचो औंल्याएको हो ।

समसामयिक राजनीतिका बारेमा कार्यकर्तालाई जानकारी गराउन र सङ्घीय समाजवादी पार्टीसँगको एकीकरणका सन्दर्भमा कार्यकर्ताबाट सुझाव लिन भेलाको आयोजना गरिएको जनाउँदै अध्यक्ष थापाले कार्यकर्ता भेला सडक आन्दोलनको तयारी समेत भएको बताए । ‘पार्टीका कार्यकर्ताको बुझाइमा एकरुपता ल्याउन देश दौडाहा गरिरहेका छौं’, अध्यक्ष थापाले भने, ‘हामी निर्णायक सडक आन्दोलनको तयारीमा पनि छौं ।’

जातीय जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने पार्टीको बटमलाइन रहेको भन्दै उनले बहुजातीय लोकतान्त्रिक समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको उल्लेख गरे । ‘सिंहदरबारमा केन्द्रित अधिकारलाई जनतासम्म पुर्याउन सङ्घीयता चाहिएको हो’, थापाले भने, ‘तर, कांग्रेस–एमाले आफ्नो हालीमुहाली खोसिने डरले सङ्घीयतामा जान चाहँदैनन् ।’

‘हामीले कसैका विरुद्ध होइन’, उनले भने, ‘आदिवासी जनजाति, दलित, महिलालगायतका उत्पीडित समुदायलाई सत्तामा पुर्याउन निर्वाचन प्रणालीमा परिवर्तन चाहेका हौं ।’ सङ्घीय समाजवादी पार्टीसँग एकीकरणका लागि छलफल भइरहेको भन्दै कार्यकर्ताको भावना अनुसार एकीकरण प्रक्रिया अघि बढ्ने थापाको भनाइ थियो ।

भूतपूर्व सैनिकका नेता मे. चोकबहादुर थापाले आफ्नो अधिकारका लागि सम्पूर्ण भूपू सैनिकहरू एक हुनुपर्ने बेला आएको बताउँदै भूपूहरूलाई एकताबद्ध हुन आभ्वान समेत गरे ।

अझै पनि पेन्सन नपाएर भौंतारिने भूपूहरू थुप्रै रहेका भन्दै मे. थापाले भारतीय भूपू सैनिकहरूको दह्रो संठन निर्माण गर्ने क्रममा आफू रहेको बताए ।

पार्टीका सङ्घीय परिषद् सदस्य एवं प्रशिक्षण विभाग प्रमुख बलदीप राईले राजनीतिमा पहुँच नभएसम्म आदिवासी जनजाति, दलित र महिलाहरूले अरूको मूल्य बढाइदिने काम भन्दा केही नहुने बताए ।

राजनीति भनेको जनसमर्थनको खेती भएको भन्दै नेता राईले जनतालाई स्रोत, साधन र सत्ताको मालिक बनाउने विचार जनमुक्ति पार्टीसँग रहेको उल्लेख गरे । जनतालाई खान र बस्न दिएर मात्रै नहुने अधिकार समेत दिनुपर्ने उनको भनाइ थियो ।

पार्टीका कास्की जिल्ला अध्यक्ष ओमबहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शोभित विकले गरेका थिए  भने उपाध्यक्ष केबी थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

भेलामा पार्टीका सङ्घीय परिषद् सदस्य एवं तमुवान राज्य परिषद् इञ्चार्ज रूद्रबहादुर गुरुङ, सङ्घीय परिषद् सदस्य एवं मगरात राज्य परिषद् इञ्चार्ज हस्तबहादुर थापा, सङ्घीय परिषद् सदस्य टेक पुन, केबी पुनलगायतको समेत उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %