गोविन्द घर्ती
देवदह कार्तिक ३० । सुकुम्वासी समस्या समाधान आयोगको परिपत्र अनुसार रुपन्देहीको देवदहमा भूमिहिन, सुकुम्वासी र अव्यस्थित बसोवासीको फारम भर्ने कार्य भएको छ । सुकुम्वासी समस्या समाधान आयोगले प्रकाशित गरेको सूचना अनुसार ३५ दिनको समय भएपनि देवदहमा भने अन्तिमको ३ दिनमात्र फारम भर्ने कार्य भएको छ । अन्तिमको ३ दिनमा देवदह नगरपालिकामा करिव ५ हनार भन्दा बढिले भूमिहिन, सुकुम्वासी र अव्यस्थित बसोवासी फारम भरेको नगरपालिकाले जनाएको छ ।
आयोगले दिएको समय सिमाको अन्तिम ३ दिन मात्र वाकी हुदा देवदह नगरपालिकाले फारमको सिफारिस गर्ने र फारम लिने काम गरेपछि फारम बुझाउनेको घुईचो लागेको थियो । करिव ६० प्रतिशत अव्यस्थित जग्गा जमिन भएको देवदह नगरपालिकामा अव्यस्थित बसोवासीको फारम भर्नेहरुको संख्या धेरै भएपछि फारम लिने काम अस्तव्यस्त बन्न पुगेको थियो । प्राविधिक हिसावले राजनैतिक सहमति गर्न केही समय लागेको कारण अन्तिम समयमा फारमको सिफारिस गर्ने कार्य भएको देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले बताए । देवदह नगरपालिकाले भूमिहिन, सुकुम्वासी र अव्यस्थित बसोवासीको फारम खुलेको बेलामा भ्रमण गराएको कारण काममा समस्या आएको स्थानीयवासीको भनाई रहेको छ । आयोगले दिएको समय सिमा रहदा सम्म देवदहमा रहेका रानजैतिक दलका प्रतिनिधि र नगरपालिका कर्मचारी अध्ययन भ्रमणमा गएका कारण फारम भर्नेमा समस्या आएको फारम भर्न लाईनमा बस्ने स्थानीयवासीको गुनासो रहेको छ ।
विहान ७ बजेदेखि लाईन बसी साझ ५ बजे मात्र आफुले फारम बुझाउन सकेको देवदह नगरपालिका–१०, निवासी नविन घर्तीको भनाई रहेको छ । फारम भर्ने कामलाई नगरपालिकाले व्यवस्थित गर्न नसक्दा फारम भर्न लाईनमा वस्ने आम नागरिकले सास्ती व्यहोर्नु परेको घर्तीको भनाई रहेको छ । कार्तिक २८ गते विहान देखि लाईनमा बसेर २९ गते मात्र फारम बुझाउन सकेको देवदह नगरपालिका–११, मुढावासका धनश्यामको भनाई रहेको छ । अपाङ्गता भएका ज्ञवालीले लाईन बस्दा धेरै सास्ती व्यहोर्नु परेको गुनासो गरेका थिए । अशसक्त, अपाङ्गता, बृद्धबृद्धाको लागि नगरपालिकाले छुट्टै लाईनको व्यवस्था गर्नु पर्नेमा त्यसो नगर्दा थप पिडित हुनु परेको ज्ञवालीको भनाई रहेको छ । सामान्यतया फारमको सिफारिस लिन धेरै कुर्नु पर्दैन भन्ने सोचाई राखेका स्थानीय नागरिकहरु विहान ४ नबज्दै लाईन लाग्न वाध्य भएका थिए ।
नगरपालिकाले भनेको समयमा फारम बुझने कार्य नगर्दा स्थानीयवासीहरु घण्टौ लाइनमा वस्न वाध्य भएका थिए । सर्वसाधरण नागरिकले लाईनमा बसेर फारम बुझाउने काम गरेता पनि पहुच वालाले भने भित्र नै गएर फारम बुझाउदा आफुहरुको पालो नआएको देवदह नगरपालिका–८, बस्ने सन्तोषी परियारको भनाई रहेको छ । भित्रबाट फाईल लैजादा र लाईनको वीचबाट काम हुदा विहानै देखि लाइनमा बस्ने आम नागरिकलाई भने समस्या परेको परियारको भनाई रहेको छ । फारम भरेपनि आफुले लालपुर्जा पाउने र नपाउनेमा धेरै नागरिकहरु दोधारमा रहेको पाईथ्यो । धेरै नागरिकहरुले फारम भरेर लालपुर्जा पाईएला त भनेर जिल्ला स्तरका नेताहरु संग प्रश्न गरिरहेको सुन्न सकिन्थ्यो । जे होस अन्तिम समयमा भएपनि देवदह नगरपालिकाले भूमिहिन, सुकुम्वासी र अव्यस्थित बसोवासीको फारम भराउने कार्य गरेर नागरिकलाई केही हदसम्म भएपनि हौसला प्रदान गर्न सफल भएको छ ।
अन्तिममा मात्र फारम भर्ने समय राखेकोले धेरै भूमिहिन, सुकुम्वासी र अव्यस्थित बसोवासीले फारम भर्न नसक्ने सरोकारवालाहरुको भनाई रहेको छ । कम्तिमा पनि फारम भर्ने समय ७ दिन भन्दा बढि हुनु पर्नेमा दलका प्रतिनिधि र नगरपालिकाका कर्मचारी भ्रमण गएर गैरजिम्मेवारपन देखाएको देवदह–९, विशालनगरका शालिकराम पराजुलीको भनाई रहेको छ । भ्रमण जाने कुरामा कुनै असहमति नभएपनि भूमिहिन, सुकुम्वासी र अव्यस्थित बसोवासीले फारम भर्ने समयमा भ्रमण जानु उपयुक्त नभएको देवददह नगरपालिका–६, निवासी ऋषिराम लामिछानेको भनाई रहेको छ । नागरिकको कामको बेलामा भ्रमण गएर राजनैतिक दलका नेताहरुले जनता प्रतिको उत्तरदायित्व निभाउन नसकेको देवदह निवासी चक्रपाणी तिवारीको भनाई रहेको छ ।
