रूद्र श्रीसमगर
पोखरा, २७ कात्तिक – तत्कालिन नेपाल लाङ्घाली परिवार सङ्घका संस्थापक महासचिव केबी रानामगरले नेपाललाई कुनै हालतमा हिन्दू राष्ट्र बनाउन नदिने बताएका छन् ।
बागलुङ जिल्ला राङखानी–५, भेडीखर्क जन्म भइ हाल पोखरा–१०, नहरमार्ग निवासी बागलुङ–पोखरा मगर समाजका साधारण सदस्य भीमा पुनमगरका बुवा कुलप्रसाद पुनमगरको निधन भएको सातौं दिनको पुण्यतिथिमा समाजले आयोजना गरेको श्रद्धाञ्जलीसभामा शोक मन्तव्य व्यक्त गर्दै रानाले त्यस्तो बताएका हुन् ।
स्व. पुनमगरका ज्वाइँ-भाञ्जा समेत पर्नुहुने मगर अगुवा रानामगरले भने , ‘यो देश हिन्दूको मात्रै होइन, हामी हिन्दू राष्ट्र हुन दिँदैनौं ।’ हिन्दू धर्म मान्नेहरू मगर हुन नसक्ने उल्लेख गर्दै रानामगरले नेपाल मगर सङ्घले समेत हिन्दू धर्म मान्नेहरूलाई मगर नमान्ने भनेको दाबी गरे ।
समाजका निवर्तमान अध्यक्ष भीमबहादुर श्रीसमगरले सत्य कुराका पक्षमा सदैव संघर्ष गर्नुपर्ने भन्दै मगरहरूले आफ्नो पहिचान भुल्न नहुनेमा जोडदिए । आदिवासी जनजातिले आफ्नो अधिकारका लागि निर्णायक लडाइँ लड्ने बेला आएको श्रीसमगरको भनाइ थियो ।
लेखक एवं स्व. पुनमगरका अर्का ज्वाइँ – भाञ्जा श्यामबहादुर रानामगरले मगर जातिको वास्तविक धर्म बौद्ध नै भएको उल्लेख गर्दै मगरहरूले जबर्जस्ती हिन्दू बनाएको दाबी गरे । बौद्ध धर्म र मगर जातिबीच गहिरो सम्बन्ध रहेको उनको भनाइ थियो । सो अवसरमा स्व. पुनमगरकी साइँली छोरी तिलकुमारी रानामगरले समेत बोलेकि थिइन् ।
समाजकी साधारण सदस्य एवं स्व. पुनमगरकी छोरी भीमा पुनमगरको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभाको सञ्चालन सचिव गजेन्द्र थापामगरले गरेका थिए ।
