बागलुङ–पोखरा मगर समाजको अध्यक्षमा छन्त्याल सर्वसम्मत

Read Time:5 Minute, 20 Second

रूद्र श्रीसमगर

पोखरा, २२ कात्तिक,बागलुङ–पोखरा मगर समाजको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा मेखबहादुर छन्त्यालमगर सर्वसम्मत चयन भएका छन । छन्त्याल यसअघि समाजको उपाध्यक्ष थिए ।

शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रामबहादुर पुनमगर, सचिवमा गजेन्द्र थापामगर, सह–सचिवमा राधा पुनमगर, कोषाध्यक्षमा कृष्णा पुनमगर र सह–कोषाध्यक्षमा हिमबहादुर श्रीसमगर सर्वसम्मत चयन भएको हो ।

त्यसैगरी, १५ सदस्यीय कार्यसमितिका सदस्यहरूमा रूद्रबहादुर श्रीसमगर, सुनिता रानामगर, डिलमाया रानामगर, ओमबहादुर श्रीसमगर, चन्द्रा थापामगर, तारा थापामगर, हिरा पुनमगर, पदमबहादुर श्रीसमगर र नरमाया श्रीसमगर रहेका छन । सल्लाहकार समिति भने नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले चयन गर्ने जनाइएको छ ।

समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरको अध्यक्षतामा सल्लाहकारद्वय ढकबहादुर पुनमगर र उर्मिला श्रीसमगर सदस्य रहेको अध्यक्षमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर सङ्घका केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगर र समाजका निवर्तमान अध्यक्ष भीमबहादुर श्रीसमगरले बधाई एवं शुभकामना मन्तव्य दिएका थिए । नवनिर्वाचित अध्यक्ष छन्त्यालमगरले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै मगर समुदायको हक, हित र अधिकारका लागि सदैव समर्पित भएर लाग्ने प्रतिबद्धता जनाए ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि एवं समाजसेवी मधु पुलामीमगरले आदिवासी जनजातिहरू अधिकारका लागि एकजुट हुनुको विकल्प नभएको बताए ।

‘हामी एक हुन सकेका छैनौं’, पुलामीमगरको भनाइ थियो, ‘जसका कारण हामी निकै पछि परेका छौं, तर, अब आफ्नो पहिचान र अधिकारका लागि एक हुन आवश्यक छ ।’ आदिवासी जनजाति युवाहरू अधिकांश कुलतमा फस्न पुगेको भन्दै समाज परिवर्तनको कार्यमा लाग्न आदिवासी जनजाति युवाहरूलाई आग्रह समेत गरे ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ कास्कीका उपाध्यक्ष एवं नेपाल मगर महिला सङ्घ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगरले मगरहरू आफ्नो अधिकारका लागि संगठित हुनुपर्ने भन्दै मगर भाषा, संस्कृतिको संरक्षणमा सबै मगरहरू एक भएर लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी कास्कीका अध्यक्ष ओमबहादुर श्रीसमगर, नेपाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसरांगी मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीका संस्थापक अध्यक्ष एवं मगर भाषा प्रतिष्ठान कास्कीका उपाध्यक्ष रूद्रबहादुर हितानमगर, नेवाः खलः कास्कीका जिल्ला सदस्य अष्टमान प्रधाना·, नेपाल मगर सङ्घ माटेपानी एकाइ समितिका अध्यक्ष डिलबहादुर श्रीसमगर, हेम्जा एकाइ समितिका अध्यक्ष क्षेत्रबहादुर रानामगर, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष भानुभक्त शर्मा कँडेल, नेपाल मगर विद्यार्थी सङ्घ कास्कीका सह–सचिव दिनेश रोकामगर लगायतले बोलेका थिए ।

कार्यक्रममा समाजका कलाकारहरूले मगर संस्कृति झल्कने विभिन्न नृत्यहरू प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए भने २०७० सालको प्रवेशिका परीक्षामा उत्तीर्ण १३ जना मगर विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा सचिव कृष्णाकुमारी श्रीसमगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरिएको थियो ।

समाजका निवर्तमान अध्यक्ष भीमबहादुर श्रीसमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णाकुमारी श्रीसमगरले गरेकी थिइन भने उपाध्यक्ष मेखबहादुर छन्त्यालमगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %