देब पचभैया
काठमाडौं, २० कात्तिक – आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधरले जनजातिले जातीय राज्य मागेको नभइ जातीय पहिचानको आधारमा राज्य मागेको बताए ।
आन्दोलनका अध्यक्षद्वारा आयोजित पत्रकार भेटघाटमा वक्तब्य जारी गर्दै आदिवासी जनजातिले खोजेको संघीयताका विषयमा ब्यापक भ्रमहरु फैल्याउने काम भइरहेको भन्दै संविधान बनाउने अन्तिम घडीमा आदिवासी जनजातिले प्राप्त भएका अधिकारलाई खोस्ने र फर्काउने काम भएको बताए ।
‘हिजो हामीलाई उत्पीडन, शोषण र दमनमा राखेका आज हाम्रा अधिकार खोज्न बाध्य भएका हौं ।’ अध्यक्ष तुलाधरले भने । प्रेस वक्तब्यमा कांगे्रस, एमाले लगायतले संघीयता, निर्वाचन प्रणाली तथा व्यवस्थापिकाको संरचना सम्बन्धमा पेस गरेको प्रस्तावमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘उक्त प्रस्ताव अध्ययन गर्दा ती पार्टीहरूले आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, महिला लगायतका जाति एवं समुदायहरूले सदियौंदेखि झेल्दै आइरहेका उत्पीडन, शोषण, दमन, थिचोमिचो, अन्याय, विभेद तथा असमानतालाई र उनीहरूले आफ्नो हक–अधिकार, समान अवसरहरू प्राप्तगर्न, पहिचान स्थापित गर्न र उत्पीडनबाट मुक्ति प्राप्त गर्नका लागि गरेका संघर्षहरू तथा राज्यले तिनीहरूसंग विभिन्न समयमा गरेका सहमति तथा सम्झौताहरूलाई पूरै बेवास्ता गरेको छ ।’ बक्तव्यमा उल्लेख छ ।
पत्रकार भेटघाटमा पर्शुराम तामाङ, सुरेश आलेमगर लगायतको सहभागीता रहेको थियो ।
