सम्मान गर्नुपर्ने बृद्धा दम्पत्तीलाई गाउलेले गरे बहिस्कार, उनीहरुलाई सहयोग गरेकोमा शिक्षकलाई कारबाही ।
देब पचभैया
पाल्पा, कार्तिक १७ – खानेपानीको बिल नतिरेको भन्दै पाल्पाको अर्गलीमा बृद्ध दम्पत्ती सामाजिक बहिस्कारमा परेका छन् ।
उनीहरुलाई सहयोग गरेको भन्दै एक शिक्षक समेत कारबाहीमा परेका छन् । अर्गली–२, फोश्राम निवासी ६९ वर्षिय बृद्ध लोकनाथ पराजुली र ६५ वर्षिय उनकी श्रीमती राधा पराजुलीले खानेपानीको बिल नतिरेको भन्दै स्थानिय समाजले उनीहरुलाई सामाजिक बहिस्कार गरेका थिए । उनीहरुको घरमा गएर बोलचाल गरेको र सहयोग गरेको भन्दै शिक्षक बिष्णु पाण्डेलाई कारबाही स्वरुप तीन सय जरिवाना काटिएको छ ।
पानी उपभोग बापत तिर्नुपर्ने २५ सय रुपियामा ब्याज र बिभिन्न दण्ड जरिवाना गरी पराजुलीलाई समितिमा १० हजार बढी तिर्नुपर्ने बनाईएको छ । गाउलेले खानेपानी नदिएपछि बृद्धा दम्पत्तीले जिल्ला प्रशासनमा उजुरी दिएका थिए । उनीहरुको उजुरी परेपछि प्रशासनले समितिका ५ सदस्यलाई दुई पटक छलफलमा बोलाएको थियो । प्रशासनको छलफलमा जाँदा आउँदा र खाजा एबं खाना खर्च समेत जोडेर लोकनाथ पराजुलीले समितिलाई १० हजार बढी तिर्नुपर्ने समिति सदस्य लक्ष्मण पाण्डेले जानकारी दिए ।
उनीहरुलाई खानेपानी समितिको नीति नियममा नरहेको र खानेपानी समितिमा बुझाउनु पर्ने रकम नबुझाएको भन्दै विगत पाँच महिनादेखि समितिले पानीबाट बञ्चित गराइएको छ । पानीको अभाबमा उनीहरुको ५ रोपनी खेत बाझो भएको छ ।
काम गर्न नसक्ने भएपछि आफुहरु एक्ली छोरी सिता पाण्डेको घरमा बसेको र छोरीलेनै पानीको बिल तिरेपनि आफुहरुलाई समेत पानीको बिल तिर्न लगाएको लोकनाथ पराजुलीले गुनासो गरे ।
कारबाहीमा परेका शिक्षक विष्णुप्रसाद पाण्डेका अनुसार लोकनाथ दम्पत्तिसँग बोलकै कारण समितिले आफ्नो परिवार संग तीन सय जरिवाना लिएको छ । अर्को पटक बोलेमा ६ सय, फेरी बोलेको नौ सय र त्यसपछि पनि बोलेमा समाजबाटै बहिस्कार गर्ने समितिले चेतावनी दिएको छ । २०६२ सालदेखि २५०० तिनुपर्ने नियम भएअनुसार पराजुली दम्पत्तीलाई खानेपानी बाट बन्चित गराईएको तल्लो खुगुर्दि फोश्रान खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले जानकारी दिए । गाउलेको नियम सबैले मान्नुपर्ने भन्दै अर्गली गाबिसका सचिब शंकर पाण्डेले पनि गाउलेकै कुरामा सही थपेका छन् । उहाँ आफैले गल्ती गर्नुभएको छ, सचिब पाण्डेले भने, प्रशासनले नै गाउमै मिल भनेकाले यस बारेमा गाबिसले केही गर्न सक्दैन ।
सम्मान गर्नुपर्ने बृद्धा दम्पत्तीलाई समाज बाटै बहिस्कार गरिएको अर्गली पाल्पाको यो घटनालाई धेरैले नराम्रो मानेका छन् ।
