विद्यालयको रजत जयन्ती मनाउन देउसी भैलो

Read Time:5 Minute, 3 Second

रूद्र श्रीसमगर

गलकोट, १४ कात्तिक

बागलुङ जिल्लाको गलकोट, हरिचौर–३, ठूलाथरस्थित नवज्योति (दुर्गा) निम्न माध्यमिक विद्यालयको २५ औं वार्षिकोत्सव एवं रजत जयन्ती मनाउनका लागि देउसी भैलो अभियान सुरु गरिएको छ ।

रजत जयन्तीका अवसरमा विद्यालयले आयोजना गर्न लागेको ‘रजत महोत्सव–२०७१’को प्रचारप्रसार तथा विद्यालयका आर्थिक अवस्था मजबुत बनाउनका लागि देउसी भैलो अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश श्रीसले जानकारी गराए ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको भाइटीकाका दिनदेखि सुरु गरिएको देउसी भैलो कार्यक्रमका लागि थुप्रै ठाउँबाट आग्रह भएकाले तिहार सकिएपनि जारी राखिएको अध्यक्ष श्रीसले बताए । देउसी भैलो कार्यक्रममा विद्यालयसँगै संगम युवा क्लब, ठूलाथर र दरमखानी लोपोन्मुख संस्कृति संरक्षण समितिले पनि साथ दिएको छ ।

सिमलबोट, हिस्लाङ, भुजु, हरिचौरलगायतका ठाउँमा बिहीबारसम्म खेलिएको देउसी भैलोबाट १ लाख ७२ हजार रुपैयाँ संकलन भएको अध्यक्ष श्रीसले जानकारी दिएका छन । शुक्रबारबाट स्थगित गरिएको देउसीभैलो कार्यक्रम सोमबारदेखि पुनः बाँकी ठाउँमा खेलिने श्रीसको भनाइ छ । राज्यको दोहोरो शिक्षा नीतिका कारण अन्य सामुदायिक विद्यालयहरूझैं सो विद्यालय समेत पछिल्लो समय संकटमा फस्दै गएको भन्दै विद्यालय बचाउन रजत जयन्तीका अवसरमा विशेष अभियान थालिएको श्रीसको भनाइ छ ।

‘राज्यले कुनै खास सहयोग नगरेपछि समुदायलाई विद्यालय सञ्चालन गर्न गाह्रो परिरहेको छ’, अध्यक्ष श्रीसले भने, ‘हामी आर्थिक समस्याले ग्रस्त छौं, यो बेलामा हामीले सहयोगी हातहरूको खोजी गरिरहेका छौं ।’ राज्यले बेवास्ता गरेपछि आर्थिक समस्याकै कारण विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक पूर्वाधार जुटाउन समेत समस्या परेको भन्दै श्रीसले सो क्षेत्रको शैक्षिक भविष्यका लागि विद्यालय बचाउन सबै गाउँले एक भएर लागिपरेको बताए ।

२०४७ सालमा स्थापना भएको सो विद्यालयमा हाल एक सहयोगी कर्मचारीसहित ११ जना शिक्षक–कर्मचारी कार्यरत छन् । जसमा एक जना स्थायी दरबन्दी, तीन जना राहत दरबन्दी र बाँकी भने स्थानीय स्रोतबाटै परिचालित छन् । सो विद्यालयसँग बेलायतको वेल्सस्थित एक विद्यालयसँग ग्लोबल स्कुल पार्टनरसीप अन्तर्गत सांस्कृतिक तथा शैक्षिक आदानप्रदान कार्यक्रम सुरुभएपछि सहयोगबाट नै १२ वटा कम्प्युटर र एक थान सीडीएमए टेलिफोन जडान गरिएको थियो ।

विद्यालयको खर्च धान्नै नसक्ने अवस्था आएपछि देउसी भैलोकै माध्यमबाट आर्थिक संकलन अभियान सञ्चालन गरिएको विद्यालयकी प्रधानाध्यापिका प्रेमा श्रीसको भनाइ छ । पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न गाह्रो परेकै कारण विद्यार्थी संख्या समेत घटिरहेको भन्दै विद्यालय बचाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको प्रधानाध्यापिका श्रीसले बताइन ।

हाल सो विद्यालयमा करिब ८४ छात्र छात्रा अध्ययनरत रहेको र आर्थिक अभावमा शैक्षिक गुणस्तर माथि उठाउन समस्या परेकाले देश तथा विदेशमा रहेका शिक्षाप्रेमी नेपालीहरूलाई सहयोगको अपिल समेत गरिएको छ । ‘अहिले हामी खर्च धान्नै नसक्ने अवस्थामा आइपुगेका छौं’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश श्रीसले भन्नुभयो, ‘विद्यालयका लागि आर्थिक सहयोग गर्न हामी देश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौं ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %