रूद्र श्रीसमगर
पोखरा, १२ कात्तिक
बागलुङ–पोखरा मगर समाजले नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा बुधबार ‘तिहार विशेष कार्यक्रम’ सम्पन्न गरेको छ ।
नेपाल मगर सङ्घ रामबजार एकाइ समितिको सभाहलमा आयोजित कार्यक्रममा पोखरामा बसोबास गर्ने बागलुङे मगरहरू विभिन्न नाचगान सहित खानपानमा रमाए ।
‘तिहार गइसकेपनि वर्षदिनको सांस्कृतिक चाड तिहारमा सामूहिक रूपमा रमाइलो गरेका हौं’, समाजका अध्यक्ष भीमबहादुर श्रीसमगरको भनाइ थियो, ‘देउसी भैलो खेल्न सम्भव भएन, त्यसैले सामूहिक रूपमा कार्यक्रम गरेर खानपान र नाचगानसहित तिहार मनायौं ।’
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै समाजका सल्लाहकार एवं जिल्ला शिक्षा कार्यालय, बागलुङका प्रतिनिधि ढकबहादुर पुनमगरले पोखरामा बस्ने सम्पूर्ण बागलुङे मगरहरूलाई एकताबद्ध र स·ठित गर्न समाजले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । मगर समुदायको हक, हित र अधिकारका लागि समेत समाजले सक्रिय भूमिका खेलेको भन्दै पुनमगरले जातीय पहिचान स्थापित गर्नका लागि अघि बढ्न आग्रह गरे ।
समाजले सोही कार्यक्रममार्फत् तिहारको दक्षिणा र सहयोग समेत सड्ढलन गरेको छ । सड्ढलित रकम हरहिसाबसहित बिहीबार सार्वजनिक गरिने जनाइएको छ । समाजको यही कात्तिक २२ गते हुने आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको पूर्व सन्ध्यामा तयारीस्वरुप सो कार्यक्रमको आयोजना गरिएको हो ।
समाजका अध्यक्ष भीमबहादुर श्रीसमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णाकुमारी श्रीसमगरले गरेका थिए ।
