काठमाडौ, ३१ भदौ – बैद्य माओवादीको मोर्चा सहभागी नहुने भएपछि प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय राजनीतिक सम्मेलन स्थगित गरेका छन् । सम्मेलनका लागि दलका नेताहरु बानेश्वरस्थित संविधानसभाको लोत्सेहलमा पुगिसकेका थिए । तर, केहीबेरमा आउँछौं भनेका माओवादी नेताहरु नआएको भन्दै प्रधामन्त्रीले सम्मेलन रद्द गरिएको घोषणा गरे ।
प्रधानमन्त्रीले सम्मेलनस्थलबाटै माओवादी अध्यक्ष मोहन बैद्यलाई फोन गरेका थिए । फोन सम्वादमा उनले सम्मेलनमा नआउने निर्णयले आफूलाई एकदमै दुःखी बनाएको बताए । प्रधानमन्त्रीले फोन गरेको आवाज माइकबाटै सुनिएको थियो । प्रचण्ड, डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री वामदेव गौतमलाई दायाँ-वायाँ साक्षी किनारामा राखेर प्रधानमन्त्रीले बैद्यलाई फोन गरेका हुन् । सम्मेलनमा आएको भए सबै विषयमा खुल्ला छलफल गर्न सकिने प्रधानमन्त्रीले फोनबाटै वैद्यलाई भने । तर, बैद्यले के जवाफ दिए त्यो भने फोनमा अरुले सुन्न पाएनन् ।
यसअघि बालुवाटामा बसेको चार दलको बैठकमा सहमति नभएको भन्दै निस्किएका माओवादी नेताहरुले अन्तिम समयमा आएर सम्मेलनमा नजाने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले वैद्यसँग टेलिफोन वार्ता गरेलगतै शान्तिमन्त्रीसमेत रहेका कानूनमन्त्री नरहरि आचार्यले पत्रकारसँग कुरा गर्दै अब फेरि गोलमेच सम्मेलन नै नहुने संकेत गरे । निर्वाचन बहिस्कार गरेर गल्ती गरेको बैद्य माओवादीको कुरा पनि संविधान निर्माणमा आओस् भनेर सर्वदलीय सम्मेलन गर्न लागेको भन्दै आचार्यले भने- ‘दुर्भाग्यवस हुन सकेन, यो ऐतिहासिक सन्दर्भ, जुन मौका उपलब्ध भएको छ, त्यो गएको छ ।
’सर्वदलीय सम्मेलनमा भएको छलफलको प्रतिवेदन बनाएर प्रधानमन्त्रीमार्फत संविधानसभा अध्यक्षलाई दिने र सम्वन्धित समितिमा पठाएर छलफल गराउने सरकारको तयारी रहेको उनले बताए । अब फेरि गोलमेच सम्मेलन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा मन्त्री आचार्यले भने-‘यस्तो सम्मेलनका बारेमा भन्न सकिने कुनै आधार छैन ।’ अब कति पर्खने भन्ने प्रतिप्रश्न गर्दै आचार्यले अगाडि भने-‘अहिले पनि प्रतिक्षा गरिरहेको छौं, कतिसम्म प्रतिक्षा गरौं ? ५ मिनेटमा आउँछौं भन्दा पनि प्रतिक्षा गर्यौं । तर, आधा घन्टासम्म्म आउनुभएन ।’
कानुनमन्त्री आचार्यले अब संविधानसभाले आफ्नो प्रक्रिया अनुसार काम अघि बढाउने र कार्यतालिका अनुसार जनताको राय सुझाव लिने बताए । बैद्य माओवादीले भनेअनुसार नै सरकारले सम्मेलनका लागि सबै काम गरेको भन्दै आचार्यले गोलमेच सम्मेलन सफल नहुनुमा सरकार दोषी नभएको दाबी गरे । आचार्यले भने- ‘कार्यदलको बैठक हुँदासम्म कुरा मिलेको थियो, हिजो शीर्षनेताहरुलाई बि्रफिङ गराउने बैठक थियो । हामीले आफ्नो बि्रफिङ गर्यौं । तर, उहाँहरुले नयाँ कुरा गरेर मान्नुभएन । शान्ति प्रक्रियाका बाँकी विषय र राष्ट्रिय राजनीतिका विषयमा समेत गोलमेचमा छलफल गर्नु पर्ने बैद्य माओवादीको मागमा सहमति नभएको मन्त्री आचार्यले बताए । ‘शान्ति प्रक्रियाका विषयमा सरकार र दलहरुबीच बेलाबेला परामर्श लिन सक्छौं । बाँकी गर्दै पनि छौं, यो सम्मेलनको विषय यो होइन,मन्त्री आचार्यले भने ।’ दोस्रो संविधानसभा चुनाव देखिनै नेकपा-माओवादीले माग गर्दै आएको सर्वपक्षीय राजनीतिक सभा आज बोलाइएको छ। सरकारले आयोजना गर्ने सम्मेलन संविधानसभा भवन नयाँ बानेश्वरमा हुन लागिएको हो।
संविधानसभामा सहभागी ३१ दल र नेकपा-माओवादीले नेतृत्व गरेको संविधानसभा बाहिरका ३३ दल सहभागी हुदैछन्। यसअघि सर्वपक्षीय राजनीतिक सभा शुक्रबार कांग्रेस, एमाले, एकीकृत माओवादी र नेकपा-माओवादीका नेताहरु संम्मिलित कार्यदल बैठकले प्रधानमन्त्री सुशील कोइराला असोज ३ गते अमेरिका जाने भएकाले भदौ ३१ गते सभा गर्ने निर्णय गरेको थियो फ्रि नेपाल नेटवर्कले समचार छापेको छ ।
प्रेसवक्तव्य
नयाँ संविधान निर्माण, शान्तिप्रक्रियाका कार्यहरु र दूरगामी प्रभाव पर्ने राष्ट्रिय राजनीतिक महत्वका विषयहरुबारे सर्वपक्षीय राजनीतिक सम्मलेनद्वारा राष्ट्रिय सहमति कायम गरेर विद्यमान समस्याहरुको निकास खोजिनुपर्छ भनी नेकपा–माओवादीसहित तेत्तिस दलीय राष्ट्रिय मोर्चा, नेपालले उठाउँदै आइरहेको प्रस्ताव सर्वविदितै छ । त्यस विषयमा प्रधानमन्त्रीज्यूको आह्वानमा चार राजनीतिक दलहरु; नेपाली कांग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र नेकपा–माओवादीबीच पटक–पटक संवाद भए । परन्तु, शाब्दिक रुपमा सर्वदलीय सम्मेलन गर्ने भनिएपनि त्यसको कार्यसूची, क्षेत्राधिकारलगायतका विषयहरुमा सत्तारुढ दलहरु सहमत भएनन् ।
सर्वदलीय सम्मेलनलाई संविधानको विषयमा मात्र सीमित राख्ने, त्यसमा पनि दलहरुबाट राय सल्लाह र सुझाव लिने प्रकृतिको बनाउने, सम्मेलनबाट कुनै पनि राजनीतिक निर्णयहरु लिन नसक्ने, सम्मलेनको पूर्वतयारी, कार्यसूची र मोडालिटीबारे चार दलको बीचमा कुनै पनि लिखित सहमति पनि गर्न नसकिने सत्तारुढ दलहरुद्वारा भनिएपछि उक्त सम्मलेनको कुनै अर्थ र औचित्य देखिएन । अतः भदौ ३१ गते सरकारद्वारा आयोजित सर्वदलीय सम्मेलनमा हाम्रो पार्टीलगायत तेत्तिस दलीय मोर्चा सहभागी नहुने निर्णय गरिएको छ ।
साथै, दलहरुबीच वार्ता र संवाद जारी राख्दै सम्मेलनको कार्यसूची, सहमतिले निर्णय गर्न सक्ने क्षेत्राधिकार र सम्मलेनबाट सम्बोधन गर्न नसकिने विषयहरुमा सहमति कायम गर्ने वैकल्पिक उपायहरुबारे लिखित सहमति नहुँदासम्म सर्वदलीय सम्मलेनको औचित्य नरहने भएकोले ती विषयहरुमा नीतिगत मार्गचित्रबारे लिखित सहमति कायम गरेर मात्र सर्वदलीय सम्मेलन आयोजना गरिनुपर्दछ भनी हाम्रो पार्टी सम्बद्ध पक्षहरुसँग जोडदार माग गर्दछ ।
२०७१ भदौ ३१ …. …. …. …. मोहन वैद्य ‘किरण’
