देब पचभैया
पाल्पा , भाद्र २७ – पाल्पा बराङ्दी–५ सापाखुमकी ३६ बर्षीया मुटुरोगी लक्ष्मी कुमारी पांडे मगरलाई कतार दोहाबाट सहयोग प्राप्त भएको छ। आर्थिक अभावका कारण मुटु रोगको उपचार हुन नसक्दा समस्या भोग्दै आएकी लक्ष्मीलाई पाल्पाली सेवा समाज दोहा कतारबाट सहयोग प्राप्त भएको हो।
फोटो : करूवा बाट
बुधबार सेवा समाजका आजिवन सदस्य पाल्पा बौघापोखराथोकका भरत खत्री, सहयोगीहरु राजेन्द शाही, दलबहादुर रासकोटी लगायतको टोलिले घरमै पुगेर लक्ष्मीलाई सहयोग हस्तान्तरण गरेका हुन्। समाजको तर्फबाट ५९ हजार पाँचसय ९६ रुपैयाँ हस्तान्तरण गरिएको हो। कतारमा कार्यरत पाल्पालीहरुले संस्था स्थापना गरेर यस्ता सहयोगका कामहरु गर्दै आएका छन्। यो भन्दा पहिला मलेसिया मगर समाज र अमेरिकामा बस्ने नेपालीहरु बाट साथै कैलास नगर पाल्पाले सहयोग गरिसकेको छ ।
लक्ष्मीको तत्काल दुबै मुटको भल्ब फेर्नु पर्नेछ। आर्थिक अभावमा उपचार नपाएर उनी घरमा बस्दै आएकी छिन्। ‘विस्तारै सहयोगहरु जुटेको छ,’ उनले भनिन् ‘आवश्यक रकम जुट्यो भने छिट्टै भल्ब फेर्नेछु।’ उनले सहयोगी सबैलाई धन्यवाद दिदै आफूलाई बचाउन आग्रह गरेकी छिन्।
लक्ष्मी पांडेलाई २०५५ सालमा मुटुको रोग देखापरेको थियो । आम्दानीको स्रोत केही नभएकाले उनलाई गाउले र छिमेकीहरुले चन्दा उठाएर उपचारको लागी काठमाण्डौ पठाएका थिए । बिर अस्पतालमा अप्रेसन गरी मुटुको भल्ब नली काटेर बनाएको र रोग बल्झिएपछि ६२ सालमा मुटुको भल्ब नलीको अप्रेसन गरी दुई वटा भल्ब खोलेर गंगालाल अस्पतालमा बनाईएको थियो ।
यो तलको लिङ्क पनि पढ्नुहोस:
