भारतको ताजमहल संग दाजिने नेपालको रानीमहलको अबस्था र प्रकृति एउटै भएपनि नेपालको ताजमहल भने ओझेलमा पर्दै आएको छ ।
देब पचभैया / पाल्पा

कालीनदीको तिरमा रहेको नेपालको ताजमहल अर्थात प्रेमको प्रतिकको रुपमा रहेको ऐतिहासिक धार्मिक र प्रर्यटकिय रुपले अति महत्वपुर्ण रहेको पाल्पाको रानी महल दरवार पाल्पाको सदरमुकाम तानसेन देखि करीब १४ किलोमिटर उत्तरमा पर्दछ ।
तानसेन देखि करीब ३ घण्टाको पैदल दुरीमा रहेको ताजमहल सम्म पुग्न कच्ची सडक पुगेको छ । तानसेनको कैलाशनगर देखि बराङ्गदी नारायण डाडा, अवल हुदै पैदल मार्ग बाट ओरालो बाटो हिडेपछि प्रेमको प्रतिकको रुपमा रहेको रानीमहल पुग्न सकिन्छ । करीब १५ मिनेटको पैदलदुरीमा ३ वटा प्राकृतिक झरनाहरुले रानीमहल आउने सबैलाई स्वागत गरिरहेको छ । मर्मत सम्भार नगर्दा पनि झरनाले रानीमहल आउने प्रर्यटकको मन लोभ्याउने गरेको छ । उत्तर तर्फ बगिरहेकी कालीनदी र उत्तरी मुख बनाएर बनाएको एतिहासिक दरवारले सबैको मनलाई आर्कषित त बनाउछनै त्यहाको कलाकृति देख्दा राणकालमा पनि यस्तो संभब थियो र भनेर सोच्न बाध्य पार्नेगरेको छ ।
धार्मिक ऐतिहासिक, प्रर्यटकिय रुपले महत्वपुर्ण मानिएको रानीमहल दरवार लाई पछिल्लो समयमा युवायुवतिहरुले साचो प्रेमको प्रतिक र विश्वासको रुपमा लिने गरेका छन । आफ्नो प्रेम र जीवन दिगो रहोस भनेर सयौ मायालु जोडीहरु रानी महलमा पुग्ने गर्दछन् । राणा खड्ग शम्शेर र रानी तेजकुमारीको अमर प्रेमको बारेमा चर्चा गर्ने र उनीहरुको जस्तो प्रेम दिगो रहोस भन्ने कामना गर्ने परम्परा रहिआएको छ । राणा खड्ग शम्शेरले पनि प्रेमको प्रतिक स्वरुप आफ्नो मायालुको सम्झनामा र संसारका सबै मानिसहरुले यस्तै गरेर प्रेमको महत्व बुझुन, प्रेम अमर हुन्छ दिगो हुन्छ भनेर संसार भरी फैलियोस भनेर एउटा नदीको किनारमा उनले आफ्नो प्रेमिकाको सम्झनामा रानी महल निर्माण गरेका थिए ।
बि.स. १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि पागल जस्तै भएका खड्ग शमशेरले उनकै सम्झनामा रानी महल निमार्ण गरेका हुन । बिस १९५० देखि निमार्णकार्य शुरु गरेका शमशेरले बिसं १९५५ मा रानीमहल दरवारको निमार्ण कार्य पुरा गरेका थिए । उत्तरमुखि काली गंगा बगेको स्थानको छनौट गरी रानीमहल दरवार निमार्ण गरिएको छ । दरवारको बनोट हेर्दा कुनै युरोपियन दरवारको रुपमा सजिएको जस्तो निकै आर्कषक देखिन्छ । उत्तरमुखि गंगाको जल खुट्टाले कुचेपनि पबित्र भईन्छ भन्ने मान्यताका साथ दरवारकै सिढि बाट कालीनदिमा पुग्ने गरी दरवारको निमार्ण गरिएको छ । काली गण्डकी बाटै जग उठाएर यो दरवारको निमार्ण गरिएको छ ।
करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा रहेका छन । ताजमहलको परिसरमा मनमोहक बगैचा, शिबलालय, पानीपोखरी, शिबलिङ्गमा नागनागिनले जल शेचनको दृश्य, भाँन्सा घर, घोडा बाध्ने तबेला ठुला घण्टहरु सहितको बिभिन्न आर्कषित कलाकृतिहरु देख्न सकिन्छ । जगबाट कालीनदी बगेपनि हाल सम्म दरवार लाई भने कुनै क्षति पुर्याएको छैन । माथि बाट जंगलले टोपि ओढाएको र तल बाट नदीको बगेको दृश्य देख्दा कसको मन रमाउदैन होला ।
तर यती राम्रो ऐतिहासिक, धार्मिक र प्रर्यटकिय रुपले महत्वपुर्ण मानिएको रानीमहल भने दिन प्रतिदिन जिर्ण बन्दै जादा रानीमहल पुग्ने जो कोहिको पनि मन कटक्क दुख्ने गरेको छ । ऐतिहासिक तथा पुरातात्वकि महत्व बोकेको रानी महल अहिले भत्किने अबस्थामा पुगेको छ । दरवारमा रहेका सम्पुर्ण संरचना भताभुङ्ग अबस्थामा छन । दरवारको परिसरमा रहेको मन्दिर, भान्सा घर पोखरीहरु सबै जिर्ण छन । दरवारको मुख्य भागमा प्रवेश गर्दानै अति फोहोर दुगन्धित देखिन्छ । रानीमहलको मुख्य दरवारको वरीपरी रहेका सहायक दरवार भत्किएका छन । भत्किएका दरवारहरु मर्मत संभार नहुदा दरवार परिसर भित्र घास र झार उम्रिएको छ । बि.स. १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि पागल जस्तै भएका खड्ग शमशेरले उनकै सम्झनामा रानी महल निमार्ण गरेका थिए । धेरै लामो समय सम्म खड्ग शमशेरले त्यहि रानीमहलमा बस्ने र सुत्ने गरेपनि परिस्थीती अनुकुल नभएपछि उनी भारत पलायन भएपछि सो महल जिर्ण बन्दै गएको हो ।
आज भारतको ताजमहलमा हेर्न बिदेशि लाखौ पर्यटक आईरहेका छन जसको कारण भारत सरकारले करोडौ रुपैयाको राजश्व आम्दानी गर्दै आएको छ । तर ताजमहल र रानीमहलको अबस्था र प्रकृति एउटै भएपनि नेपालको ताजमहल भने ओझेलमा पर्दै आएको छ ।
