देब पचभैया
पाल्पा, भाद्र २४ – रुपन्देहीसंग सीमा जोडिएको पाल्पाको सत्यवती गाविसमा दिनदाहाडै प्रतिबन्धित गिट्टी बालुवा निकासी भइरहेको छ ।
सत्यवती गाविस–९ इटियास्थित कञ्चन खोलाबाट महालक्ष्मी निर्माण सेवाले गिट्टी, बालुवा र ढुंगा निकासी गरिरहेको हो । दुईवटा ट्याक्टर लगाएर गिट्टी बालुवा निकासी गरिएको स्थानियले जानकारी दिएका छन् । ट्याक्टर चालकका अनुसार उक्त बालुवा सालझण्डी– ढोरपाटन सडक निर्माणमा काम गरिरहेको महालक्ष्मी निर्माण सेवाका ठेकेदारले निकासी गरिरहेका छन् । नरेन्द्र मानन्धर नामका ठेकेदारले केही दिन अघिदेखि पानी बगिरहेको खोलाबाट नदिजन्य सामाग्री निकालेर सडक निर्माण कार्य गरिरहेको स्थानीय वडा संयोजक भिमबहादुर मगरले जानकारी दिनुभयो । सरकारले अहिले देशभर नदीजन्य सामग्री निकासी बन्द गरेको छ ।
आफूहरुसंग कुनै सल्लाह नगरी ठेकेदारले एकलौटी ढंगले निकासीको काम गरेको मगरले बताउनुभयो ।
ठेकेदार नरेन्द्र मानन्धरले निर्माण सामग्री अपुग भएकाले स्थानीयको सहमतिमै नदीबाट गिट्टी बालुवा निकालिएको प्रतिक्रिया दिएका छन् ।
स्थानिय बिकास अधिकारी दीर्घ पोखरेलले गिट्टी बालुवा निकासी भएको भए तत्काल कारवाही गर्ने बताउनुभयो । अहिले देशभरी नै नदिजन्य पदार्थको निकासी बन्द गरिएकाले चोरी निकासी भएको भए तत्काल प्रहरी परिचालन गरेर कारवाही थालिने पोखरलेले जानकारी दिनुभएको छ । उक्त क्षेत्रबाट हिउँद र वर्षायाममा समेत नदीजन्य पदार्थको चोरी निकासी हुने स्थानियले गुनासो गरेका छन् ।
चोरी निकासीमा स्थानीय अगुवाहरुकै संलग्नता रहेको बताईएको छ ।
