काठमाडौ, भाद्र २० – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मनिरपेक्षता, संघियता र गणतन्त्रमा आफ्नो असहमति जनाउँदै उक्त तीन वटै विषयको निर्णय जनमत संग्रहबाट गरिनुपर्ने माग गरेको छ । हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा रहेको राप्रपा नेपालले संघीयताको बिरोध गर्दै आएको छ ।
आफ्नो धारणा सहितको असहमति राप्रपा नेपालले शुक्रबार संवैधानिक तथा राजनैतिक सम्बाद तथा सहमति समितिमा दर्ता गराएको हो । पार्टीको प्रमुख सचेतक दिलनाथ गिरीले संविधानसभाको नियमावली अनुरुप औपचरिक रुपमा असहमति दर्ता गराएका छन् ।
पार्टीको विचारलाई स्थान दिने बारे कुनै पहलकद्मी नभएको प्रति दुःख व्यक्त गर्दै राप्रपाले औपचारिक रुपमा असहमति जनाई सकेकाले ती विषयलाई संविधानसभा नियमावली अनुरुप विधी र प्रक्रियाबाट टुंग्याउन माग गरेको कान्तिपुरले समचार छापेको छ ।
