रूद्र श्रीसमगर
पोखरा, १८ भदौ
युनाइटेड अर्चलबोट युथ क्लबको आयोजनामा शनिबारदेखि दोस्रो अर्चलबोट कप सेभेन ए–साइड फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
खेलकुदको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा करिब ४० टिमको सहभागिता हुने अपेक्षा गरिएको क्लबका अध्यक्ष पूर्णप्रसाद पुनले जानकारी दिए । प्रतियोगितामा भाग लिन नाम दर्ताका लागि बिहीबार बेलुकी पाँच बजेसम्मका लागि समय तोकिएको छ ।
सेभेन ए–साइड फुटबल प्रतियोगिताकै सर्वाधिक पुरस्कार रहेको प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ र द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ नगद राशि राखिएको अध्यक्ष पुनले जानकारी दिए । साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पुनले जनाए ।
पूरानो टुँडिखेलस्थित खेलमैदानमा हुने सो प्रतियोगिता यही भदौ २८ गतेसम्म हुनेछ ।
