रूद्र श्रीसमगर
पोखरा, १८ भदौ
नेकपा–माओवादीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सीटीईभीटी तमुवान समितिले पोखरा–८, न्यूरोडमा रहेको आइडिया कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
एएनएम पढाइ हुने सो कलेजमा सीटीईभीटीको नियमावली विपरीत गरिएको छात्रवृत्ति वितरण र अनियमित चर्को अध्ययन शुल्कका विरुद्धमा शान्तिपूर्ण रूपमा माग राखी दुई चरणको आन्दोलनबाट समेत माग पूरा नभएको भन्दै क्रान्तिकारीले कलेजको प्रिन्सिपल कार्यकक्षमा तालाबन्दी गरेको हो ।
साथै, अखिल (क्रान्तिकारी)ले अध्ययन शुल्कमा लिइएको हालको चर्को शुल्क खारेज गरी उपयुक्त शुल्क निर्धारण गरिनुपर्ने, सीटीईभीटीको नियमावली अनुसार ५ प्रतिशत छात्रवृत्तिको वितरण गरिनुपर्ने, प्रतिविषय एक पुस्तकको व्यवस्था गरी व्यवस्थित पुस्तकालयको व्यवस्था गरिनुपर्ने, व्यवस्थित कम्प्युटर ल्याबको व्यवस्था गरिनुपर्ने, स्वच्छ, सफा क्यान्टिनको निर्माण गरिनुपर्ने, खेलकुद मैदानको निर्माण गरिनुपर्ने र प्राक्टिकल ल्याब व्यवस्थित गरिनुपर्ने गरी सात वटा मागहरू कलेजसमक्ष प्रस्तुत गरेको छ ।
आफूहरू वार्ता र संवादबाट समस्याको हल गर्न तयार भएपनि कलेज प्रशासनले आफ्ना मागप्रति गम्भीर नभएको अखिल (क्रान्तिकारी) सीटीईभीटी तमुवान समितिका संयोजक मणि न्यौपानेले जानकारी दिनुभयो । विद्यार्थीका जायज माग तीन दिनभित्र पूरा गरी वातावरण सहज बनाउन आग्रह गर्दै क्रान्तिकारीले अन्यथा थप आन्दोलन कार्यक्रम सार्वजनिक गरिने जनाएको छ ।
