गोविन्द घर्ती
रुपन्देही भद्रौ १७ – राज्यको नीति निर्माण तहमा दलित तथा पिछडा वर्गको प्रतिनिधित्व नभएसम्म दलितहरुको अधिकार स्थापित हुन नसक्ने राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले बताएका छन् ।
उनले राज्यको हरेक क्षेत्रमा दलितहरुको पहुच पुर्याउन दलित र पिछडा वर्गको लागि संविधानमा आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अध्यक्ष थापाले राजनैतिक दलहरुले दलित तथा पिछडा वर्गलाई राजनैतिक भर्याङ्गको रुपमा मात्र प्रयोग गरेका कारण उनीहरुको विकास हुन नसकेको बताए । राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन राष्ट्रिय दलित मोर्चाको नवलपरासीको वर्दघाटमा शुरु भएको प्रथम महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष थापाले उक्त कुरा बताएका हुन् । उनले उत्पीडन र पछाडि परेको वर्ग तथा समाजको उत्थान विना देशले फड्को मार्न नसक्ने हुदा देशमा बसोवास गर्ने हरेक जातजातीको विकासको लागि राज्य गंभिर हुनु पर्नेमा जोड दिए ।
उनले देशमा जातीय छुवाछुट अन्त्य गर्न सम्पूर्ण दलित तथा पिछडा वर्गहरु एक जुट हुनुको विकल्प नभएको बताए । अध्यक्ष थापाले ठूला राजनैतिक दलहरु आ–आफनो एजेण्डामा अडिग भएका कारण आम नागरिकको पक्षमा संविधान आउनेमा शंका व्यक्त गरे ।
महाधिवेशन मुल तयारी समितिका संयोजक मोतिलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय दलित मोर्चाका केन्द्रीय अध्यक्ष रामु परियार, सभासद सिमा कौशल, पार्टीका संघीय परिषद सदस्य कर्णबहादुर सुनारी, प्रेम पोखरेल, झमबहादुर गुरुङ्ग लगायतले आ–आफना मन्तब्यमा राज्यको हरेक क्षेत्रमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व नभए सम्म सम्पूर्ण जातजातीको अधिकार स्थापित नहुने हुदा अधिकारको लागि एकजुट हुनुको विकल्प नभएको बताए का थिए ।
मोर्चाका सदस्य श्याम परियारको स्वागत र लालबहादुर गोतामेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । २७ जिल्लाको करिव १ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको प्रथम महाधिवेशन विहिवार सम्म संचालन हुने र नयाँ नेतृत्व चयन गर्ने समेत मोर्चाले जनाएको छ ।
