मन्त्रिपरिषद्ले रुक्मिणीको नाम हटायो

२६ मध्ये १७ मात्रै मनोनित

काठमाडौ, भाद्र १३ – मन्त्रिपरिषद्ले आफ्नो निर्णय सच्याउदै १७ जनालाई मात्रै संबिधान सभामा मनोनित गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैकले संबिधानसभामा २६ मध्ये १८ लाई मनोनित गर्ने निर्णय गरेको थियो ।

कांग्रेस तर्फबाट सभासद मनोनित रुक्मिणी कोइरालाको नाम सर्वोच्च अदालतको आदेश विपरीत भएको सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले निर्णय सच्याएको हो ।

सर्वोच्च अदालतले केही साता अघि संबिधानसभामा रिक्त रहेको २६ सभासद मनोनित गर्दा चुनाव हारेका र समानुपातिक सूचीमा रहेकालाई नपार्न भनेको थियो ।

कांग्रेसले दोस्रो संबिधासभाको लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा कोइरालाको नाम थियो ।

उनी कांग्रेस पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी भतिजी बुहारी हुन् ।

अन्तरिम संबिधान २०६३ को धारा ६३ को उपधारा ३ (ग) अनुसार मन्त्रिपरिषद्ले संबिधान सभाको २६ पद मनोनित गर्ने प्रावधान छ ।

कान्तिपुर बाट

 

मन्त्रिपरिषद्द्वारा २६ मध्ये १८ सभासद् मनोनयन

एमाले महासचिव पत्नी र गणेश थापा पनि    

समानुपातिक सूचीमा रहेका पनि मनोनित

 

काठमाडौ, भाद्र १३ – संविधानसभा गठन भएको ९ महिनापछि सरकारले २६ मध्ये १८ सभासद् मनोनयन गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कांग्रेस, एमाले र राप्रपा नेपालको सिफारिसमा १८ सभासद् मनोनयन गरेको हो । पहिल्यै तय गरेको बताएको एमाओवादीले भने नाम दिन सकेन । उसले कांग्रेस, एमाले पूर्व सहमति कार्यान्वयनमा इमान्दार नभएको भन्दै नाम नपठाएको जनाएको छ ।

कांग्रेस र एमालेले पहिलो संविधानसभामा ‘काम देखाएका’ राधेश्याम अधिकारी र अग्नि खरेलबाहेक सवै नयाँ अनुहार पठाएका छन् । राप्रपा नेपालले एकजनाको कोटामा अध्यक्ष कमल थापाका भाइ गणेश थापालाई सभासद् बनाएको छ ।

संविधानसभामा पाएको सिट संख्याका आधारमा कांग्रेसको भागमा ९, एमालेको भागमा ८ , एमाओवादीको भागमा ४, राप्रपा नेपालको भागमा १ र चार सभासद् साना दललाई दिइएको छ ।

एमालेबाट महासचिव ईश्वर पोखरेलकी पत्नी मिरा धुजू सभासद् भएकी छन् । उनी अखिल नेपाल महिला संघकी नेतृ हुन् । एमालेले एकजना बाहेक सवै केन्द्रीय नेता र विज्ञलाई पठाएको छ ।

कांग्रेसले पनि शिक्षाविद्, कानुनविद्सहित स्थानीय नेतालाई संविधानसभामा पुर्‍याएको छ । राधेश्याम अधिकारी कांग्रेसका पूर्वसभासद् तथा कानुनविद् हुन् ।

रामेछापका कांग्रेस नेता शिवबहादुर खड्का पूर्वजिविस सभापति हुन् । पुराना कांग्रेसी नेता खड्का भद्र अवज्ञा आन्दोलन, सत्याग्रहमासमेत सहभागी थिए ।

मोरङका मजदूर नेता पुष्कर आचार्य पनि कांग्रेसबाट सभासद् भएका छन् । उनी कांग्रेस मजदुर संघको अध्यक्षमा पराजित भएका थिए ।

म्याग्दीका रेशम बानियाँ कांग्रेसका जिल्ला सभापति हुन् । पहिलो संविधानसभा निर्वाचनमा पराजित बानियाँ नेविसंघका पूर्वनेता हुन् ।

मोरङकी रुक्मिणी कोइराला महिला संघको उपाध्यक्ष भइसकेकी छन् ।  कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका भतिजी बुहारी रुक्मिणी जिल्लाबाटै महिला संघको राजनीति गरेकी हुन् ।

कांग्रेस कोटाबाट सभासद मनोनित रक्मिणी कोइरालाको नाम संबिधान सभा निर्वाचनमा समानुपातिक तर्फको सूचीमा पनि थियो । संबिधानसभाले केही साता अघि सरकारलाई २६ जनाको मनोनयनमा चुनाव हारेका र समानुपातिक सूचीमा परेकाहरुलाई २६ जनामा मनोनयन नगर्न निर्देशन दिएको थियो ।

काठमाडौंका शिक्षाविद् उमेश श्रेष्ठ पनि कांग्रेस कोटामा सभासद् भएका छन् । प्याब्सनका पूर्वअध्यक्ष श्रेष्ठसँगको कांग्रेस राजनीतिको सिधा साइनो छैन ।

सुनसरीका सूर्यदेव उरावको नाम समानुपाति सूचिमा थियो । जागिरका कारण उनी सभासद् हुन पाएका थिएनन् ।  उनको परिवार कांग्रेसको इतिहाससँग जोडिएको छ ।

कांग्रेसका नवनियुक्त सभासद् सप्तरीका सकलदेव सुतियार पेशाले इञ्जिनियर हुन् । उनी काठमाडौंमै बस्छन् ।

कांग्रेसका नवनियुक्त सभासद् अनिलकुमार रुङ्टा पर्साका उद्योगी व्यापारी हुन् । जगदम्बा स्टिल इन्टरप्राइजेजमा उनको सेयर छ । उनी हार्डवेयर व्यापारी हुन् । उनको घण्टाघरनजिकै हार्डवेयर पसल छ । वीरगञ्ज आदर्शनगरमा घर भएका उनी उद्योगहरुको राजनीतिमा समेत संलग्न छैनन् । उनी कांग्रेसका पुराना समर्थक हुन् तर राजनीतिमा संलग्न छैनन् ।

एमालेबाट सभासद् भएका अधिकांश केन्द्रीय राजनीतिमा सक्रिय हुन् । मोरङको अल्पसंख्यक धिमाल समूदायलाई एमालेले प्रतिनिधित्व गराएको छ ।

झापाका अग्नि खरेल एमालेका पूर्वसभासद् हुन् । पहिलो संविधानसभाका सवै बैठकमा सहभागी भएर रेकर्ड कायम गरेका खरेल संवैधानिक समितिमा रहेर संविधान निर्माणमा सक्रिय थिए । उनी एमालेका केन्द्रीय सदस्य हुन् ।

पूर्वकानुन सचिव उदय नेपाली श्रेष्ठ पनि एमालेबाट सभासद् भएका छन् । उनी एमालेको प्रत्यक्ष राजनीतिमा छैनन् ।

मोरङकी कांग्रेस नेतृ गंगा डाँगी पहिलो संविधानसभा निर्वाचनमा झिनो मतले आमोदप्रसाद उपाध्यायसँग मोरङ- १ बाट पराजित थिइन् । उनी अनेमसंघकी पूर्वकेन्द्रीय सदस्य हुन् ।

अनेमसंघकै नेतृ मिरा ध्वजु काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधित्व गर्छिन् । उनी एमाले महासचिव ईश्वर पोखरेलकी पत्नी हुन् ।

पेम्बा भोटे हिमाली जिल्ला बाजुराबाट प्रतिनिधित्व गर्छन् । उनी अहिले नेपाल आदिवासी जनजाति महासंघका महासचिव हुन् ।

झापा आन्दोलनका एकजना नेता नरेश खरेल पनि सभासद् बन्ने सौभाग्य पाएका छन् । लाभको पदमा नरहेका खरेल पहिलो संविधानसभामा पराजित भएका थिए ।

परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराई एमाले केन्द्रीय सदस्य हुन् । उनी माधवकुमार नेपाल प्रधानमन्त्री छँदा परराष्ट्र सल्लाहकार थिए ।

मोरङको राजघाट निवासी पर्तमान धिमाल पुराना एमाले नेता हुन् । उनी पूर्वजिविस सदस्य हुन् । पूर्वोत्तर मोरङमा कम्युनिष्ट आन्दोलन अगाडि बढाउने जस उनीमाथि पनि छ ।

राप्रपा नेपालबाट सभासद् भएका गणेश थापा दुई दशकदेखि अखिल नेपाल फुटबल संघको नेतृत्वमा छन् । भ्रष्टाचार मुद्दामा विवादित थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ हुन् ।

सभासदको सूची

कांग्रेसतर्फबाट

राधेश्याम अधिकारी

शिवबहादुर खड्का

पुष्कर आचार्य

रोशन बानियाँ

सुकदेव सुतिहार

रुक्मिणी कोइराला

सूर्यदेव दास

उमेश श्रेष्ठ

अनिलकुमार रुङटा

एमालेतर्फबाट

अग्नी खरेल

गंगा डाँडी

मिरा ध्वजु

पेम्बा भोटे

नरेश खरेल

राजन भट्टराई

पर्तमान धिमाल

राप्रपा नेपालबाट

गणेश थापा

कान्तिपुर बाट