मनोज घर्तीमगर / तस्वीर : छवि मगर
उनीहरु सबै कुमारी हुन् । तर, सबैजना आमा समूहमा आबद्ध छन् । उमेरले बज्यै भईसकेका उनीहरुलाई गाउँघरमा सबैले आमाका रुपमा चिन्छन् । गाउँमा कुनै कार्यक्रम होस् वा गाउँको विकास । बाटोघाटो बनाउन होस् वा पाटीपौवा यी कुमारी आमाहरुबिना अधुरै हुन्छ । कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट पुगेपछि यी कुमारी आमाहरुले गरेको विकास देखेर एकपटक सबै गम खान्छन् । अनि एकछिन अचम्मित हुन्छन् । त्यहाँ पुग्नेहरुले गाउँको विकास देखेपछि ‘कस्तो विकसित गाउँ रहेछ’ भन्नै कर लाग्छ ।
गुरुङ गाउँ भएकोले युवाहरु कम हुनु स्वाभाविक हो । भएका पुरुषहरु रोजगारका शिसिलमा प्रदेशमा छन् । गाउँमा बचेका केही युवा पोखरा झरेपछि यहाँ भएका कुमारी आमाहरु गाउँको मुहार फेर्न कस्सिएका हुन् । उनीहरुले याङ्जाकोटलाई विकासको पूर्वाधारले पूर्ण नमुना गाउँ बनाउन सफल भएका छन् । गाउँ विकासमा लाग्दा उनीहरुले विवाह गर्ने झन्झट गरेनन् । सम्पन्न अनि लाहुरे परिवारमा जन्मिएका उनीहरुलाई नपुग्ने केहि थिएन । दाजुभाइ, आफन्त, नातागोता कोहि युके, कोही सिंगापुर, कोही हङकङ मात्रै हैन कोही भारतीय सेना पनि थिए । सपन्न परिवारमा हुर्के पनि उनीहरुलाई विवाह गर्ने, रमाईलो गर्ने अनि सुख सयल, मोजमस्ती गर्ने ध्यानै भएन ।
बुढेसकाल लागेपछि गाउँ छाडेर सहर झर्न आफन्तले ठूलो दबाव दिए पनि याङ्जाकोटकी अगुवा समाजसेवी ६२ वर्षिया डिल कुमारी गुरुङलाई ऐसआराम र सुखको मोह रत्तिभर छैन । ‘सुख सयलको मोह भएको भए जवानीमै कति लाहुरे विवाहको लागि माग्न आए । म जान सक्थे’ गैरी गाउँ आमा समूहकी अध्यक्ष समेत रहेकी फरासिली डिलकुमारी भन्छिन् ‘तर घरजम गरेर बस्ने भनेपछि मलाई कहिल्यै ध्यान गएन, गाउँकै विकास गर्छु भनेर विवाह नगरी बसेकी हुँ ।’ घरजम गर्दा परिवार हुन्थे । छोराछोरी जन्मिन्थे । नातागोता अनि ईष्टमित्र मात्रै हैन पूरै घरव्यवहारको भार थेग्नुपथ्र्यो । यति गर्दा समाजसेवामा लाग्न समय हुने कुरै भएन । अहिले उनीहरुलाई न घरव्यवहारको चिन्ता छ, न बालबच्चा स्याहार गर्न समय खर्च । यही समयमलाएर उनीहरुले गाउँको विकासमा लगाएका छन् । ब्रिटिस आर्मिमा भएका दाजुहरुले विहे गर्नुपर्छ भनेर एक जनालाई हात दिए पनि डिलकुमारी घर छाडेर भागिन् । विवाह नगरिदिने शर्तमा उनी घर आएर समाजसेवामा जुटिन् । ‘मलाई विवाह भन्ने कुरा मन पर्दै नपर्ने, तर दाजुहरुले कर गर्नुभो म भागेर अन्तै गए’ डिलकुमारी विगत सुनाउँदै भन्छिन् ‘विवाह गरेको भए अहिलेजस्तो खुलेर समाजसेवा गर्न सक्ने थिएन ।’
डिलकुमारीलाई अहिले गाउँकै विकासमा आफूलाई समर्पित गर्नुपर्छ भन्ने ध्याउन्न मात्रै छ । उनकै दिदी ७४ वर्षीया सनकुमारी गुरुङ पनि विवाह नगरि बसिन् । उनले बहिनी डिलकुमारीको हर कामलाई एकताका उपाध्यक्ष भएर सहयोग गरिन् । हाल उनी गैरी गाउँ आमा समूहकी सदस्य छिन् । पाँचमध्येका उनीहरुका तीन दिदीबहिनी भने विवाहपछि सहर झरेका छन् । डिलकुमारीकै अगुवाईमा घरजम नगरी बसेका याङ्जाकोटका ५० भन्दा बढि महिलाहरुले अहिले गाउँमा बाटोघाटो बनाउने, खानेपानी उपलब्ध गराउने, गाउँ भएका सानातिना झैझगडा मिलाउने, जाँडरक्सी नियन्त्रण गर्ने काम गरेका छन् । त्यति मात्रै हैन मन्दिर, पार्टीपौवा निर्माण, पुस्तकालय, बृक्षारोपण गर्नेदेखि आमा समूहले आ–आफ्नै घर निर्माण गरेका छन् । उनीहरुले ढुंगाले छापेर बनाएको बाटो देखेपछि याङ्जाकोट पुग्नेहरु दंग पर्छन् । अधिकांश गुरुङ जातिको बसोबास रहेको याङ्जाकोटमा धेरै युवाहरु लाहुरे छन् । कतिपय पुरुषहरु जागिरका लागि सहरतिर झरेकाले गाउँको अगुवाई गर्ने काममा यी कुमारी आमाहरु र त्यहाँका महिलाहरु नै छन् । ‘जुन रुपमा गाउँको विकास भएको छ यो सबै यी आमाहरुको योगदान हो’ स्थानीय समाजसेवी देविजंग गुरुङ भन्छन् ‘उनीहरु रातदिन गाउँलाई अझ विकसित र नमुना बनाउन लागि परेका छन् ।’
त्यहाँ रहेका महिलाले गैरीगाउँ, देउराली, छापाडाँडा र डाँडागाउँ आमा समूह गठन गरेका छन् । यी चारवटा आमा समूहका झण्डै ९० जना जति संगठित छन् । उनीहरुले गाउँमा लाहुरे आएको बेला नाचगान गरेर, मेला पर्व, गाउँमा हुने छेवर, अर्घौमा नाचगा, चाडपर्वका बेला देउसी भैलो खेलेर पैसा जम्मा गर्छन् । नाँचगानबाट उठेको रकम संकलन गरेर गाउँ विकासमा खर्चिन्छन् । कुनै बेला राम्रोसँग हिड्न नमिल्ने गाउँटोल अहिले आमाहरुकै अगुवाईमा आकर्षक बनेको छ । यसअघि एक गाग्री पानी लिन घण्टौ लगाएर मुहानामा जाने समस्या पनि अन्त गरेका छन् उनीहरुले । एकवर्षअघि टोउकामोराङ खरबारीबाट पाँच लाखको लगानीमा उनीहरुले गाउँमा पानी पुर्याएका छन् ।
एक वर्ष अघि यिनै आमाहरुले गाउँमा कच्ची मोटरबाटो पुर्याए । यसले सबैलाई सहरमा आउन जना सुविधा पुगेको छ । गाउँमा बच्चा बिरामी हुँदाको समस्यालाई हटाउन उनीहरुले आफ्नै लगानीमा शिशु स्याहार केन्द्र बनाएका छन् । आफ्नै लगानीमा भवन समेत निर्माण गरेका छन् उनीहरुले । उनीहरुको संचालन गरेको मिलीजुली सहकारीले आर्थिक रुपलले पिछडिएकालाई ठूलो राहत दिएको छ । मासिक ५० र १०० रुपैंया जम्मा गरेर बनाएको सहकारीमा अहिले १७ लाख रुपैंया छ । यही सहकारीबाट पाएको सहयोगले बाख्रापालन, भैसीपालन, तरकारी खेती, कुखुरा पालन गरेर यहाँका विपन्न महिलाले आफ्नो गर्जो टारेका छन् । सहकारीले विपन्न महिलालाई आयआर्जनमा ठूलो सहयोग समेत दिएको छ । ‘सहकारी भएपछि साहुलाई नमस्कार भन्दै ऋण माग्न परेन । उनीहरुलाई चर्को व्याज तिर्न पनि परेन’ स्थानीय कमला गुरुङ भन्छिन् ‘आफ्नै सहकारीबाट भनेको समयमा सस्तो व्याजमा पैसा झिक्यो, घरखर्च चलायो ।’
अझ गाउँमा धेरै विकास गर्न बाँकी छ । यही अठोटका साथ विाह नगरी कुमारी आमाहरु चन्द्रमाया, तीर्थकुमारी, हिउँचुली, सुनकुमारी, हेमकुमारी, बुद्धिमाया, हिरामोती, तारादेवी, सरना र दुर्गामाया लागि परेका छन् । यही भएर उनीहरु सबै त्याग गरेर गाउँको लागि काम गरेका छन् । उनीहरुले आफ्नै खल्तीको पैसा झिकेर समेत गाउँको लागि खर्चेका छन् । ‘विवाह गरेको भए कुन विरानो ठाउँमा पुगिन्थ्यो, अहिले गाउँमै बसेर समाजसेवा गर्न पाईएको छ’ विवाह नगर्दा घरबाट हप्की आएकी ६१ वर्षिय चन्द्रमाया गुरुङ भन्छिन् ‘त्यतिबेला हप्की खाए पनि अहिले त घरपरिवारको साथ छ ।’ उनीकी एक बहिनी बेलायत र एक जना पोखरामा विवाह गरेर ऐशको जीवन विताईरहेकी छन् । उनलाई पनि गाउँ छाडेर सहसरमा बस्न आफन्तले सँधै आग्रह गर्छन् । तर गाउँमै बसेर विकासमा तल्लीन हुन जति मजा विवाह मा छैन भन्ने लाग्छ उनलाई । अब बाचुञ्जेल गाउँको विकास लाग्ने सुनाउँछिन् उनी ।
आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिएको गाउँमा पर्यटक भित्रयाउन अभियान पनि योगदान छ उनीहरुको । गाउँमा आउने पाहुनाहरुको स्वागत सत्कारसँगै गासबासका लागि समेत उनीहरुको अग्रसरता हुने गरेको छ । ‘गाउँ बनाउन यी महिलाहरुको योगदान ठूलो रहेछ’ पोखराबाट पहिलोपटक गाउँ पुगेका शेरबहादुर गुरुङ भन्छन्‘ साँँच्चिकै आट गर्दा पुरुषले भन्दा महिलाले धेरै काम गर्न सक्दा रहेछन् ।’ चिरिच्याँट्ट पारेर ढंगाले छाएका आकर्षक घर, र यहाँको सेवा र सुविधा देख्दा उनीजस्तै पहिलोपटक गाउँ पुग्नेहरु प्रशंसा गर्छन् । ‘समाजसेजा विवाहीत महिलाले गर्दैनन् भन्ने होइन तर, अविवाहित बसेर बन्धनमुक्त भएर गर्न सकिने रहेछ’ ५५ वर्षिय तीर्थ कुमारी गुरुङ भन्छिन्‘ एक्लो ज्यान जता लगे पनि भयो । जे काम गरे पनि भयो कसैको टोकाई खान परेन ।’
गाउँमा विकास निर्माणको कामको नेत्तृत्व गरेका यी महिलाहरु एक दुई दिन काम विशेषले गाउँ छाडेर पस्दा उनीहरुलाई दिदीबहिनीले गाउँ बोलाउँछन् । यसरी विकास लागेका उनीहरुजस्तै महिलाहरु साँवा अक्षर नछिचोले पनि कुनै शिक्षत महिला भन्दा कम छैनन् । पर्यटन वर्ष २०११ चलिरहेका बेला उनीहरुले गाउँमा आएका पर्यटकको बसाई लम्ब्याउन विभिन्न अभियानहरु पनि गाउँमा संचालन गर्दै आएका छन् । ‘गाउँमा आउने पर्यटकले हाम्रो आर्थिकस्तर बृद्धि गर्न सहयोग पुग्छ त्यही भएर हामी गाउँमा आउने पाहुनलाई सकेसम्को स्वागत गर्छौ’ दुर्गामाया गुरुङ भन्छिन्‘त्यही भएर त हामीले गाउँमा होमस्टेको व्यवस्था गरेका छौं ।’
गाउँमा अब एउटा अस्पताल खोल्ने योजना छ उनीहरुको । उनीहरुकै कारण गाउँ विकसित हुन थालेपछि सहर झरेकाहरु पनि अहिले गाउँमा पुगेर उनीहरुलाई सहयोग गर्न थालेका छन् । ‘उनीहरुले हाम्रो गाउँलाई दिलो ज्यान दिएर लागेका छन्’ मिलन युवा क्लबका अध्यक्ष्य बलबहादुर गुरुङ भन्छन् । ‘हामी युवाले पनि उनीहरुको अभियानमा काँधमा काँध मिलाएर सहयोग गरेका छौं ।’