आङ काजी शेर्पा किसान
काठमाडौं ,३१ साउन – संघीय समाजवादी पार्टीले ‘संघीय आदिवासी जनजाति महासंघ’ गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय महाराजगञ्जमा सम्पन्न भेलाले धनप्रसाद तामाङकको संयोजकत्वमा महासंघ गठन गरेको हो ।
महासंघको उपसंयोजकमा नित्यनन्द ताजपुरीया छन् । सदस्यहरुमा गणेशप्रसाद चौधरी, लेखनाथ खवास, शाक्य सुरेन, थमाङसिंह राई, हिमाल पुनमगर, वाङचु शेर्पा, सुरेन्द्रसुहाङ लिम्बू, जय गोलेतामाङ, मनरत्न शाक्य, जीतमान गुरुङ, प्रदीप याक्खा र गोविन्द छन्त्याल छन् ।
संघीय समाजवादीका उपाध्यक्ष वीरबहादुर लामाको उपस्थितिमा महासंघ गठन गरी घोषणा गरिएको हो । महासंघका संयोजक, उपसंयोजक तथा सदस्यहरुलाई शुभकामना दिदै लामाले पहिचानसहितको संघीयताका लागि एकतावद्ध भएर आन्दोलन गर्नुपर्ने बताए । उनले पहिचानको मुद्दा कमजोर नभएको जिकिर गर्दै पहिचान प्राप्तीका लागि सडक आन्दोलन आवश्यक रहेको बताए ।
संघीय समाजवादीका उपमहासचिव महेन्द्र थापामगरले अहिलेको संविधानसभाबाट पहिचानसहितको संघीय संविधान बन्न नसक्ने भएकाले उत्पीडनमा परेका सम्पूर्ण समुदायको संयुक्त आन्दोलननै निर्णायक आन्दोलन हुने बताए ।
संघीय समाजवादीले २०औं विश्व आदिवासी दिवसको अवसरमा शनिबार पार्टीको केन्द्रीय कार्यालय महाराजगञ्जमा जलपान कार्यक्रमसमेत आयोजना गरेको थियो ।
