गोर्खाका तामाङलाइ गोरुको मासु खाएको निहुँमा पुलिसले गोली हान्यो

Read Time:3 Minute, 2 Second

गोर्खा, साउन २९ –  तामाङ समुदायका मानिसले आफ्नो संस्कृति अनुसार गोरु काटेर खाएको आरोपमा सिमजुङको सिरानडाँडामा आज  प्रहरीले गोली हानेर स्थानीय ७० वर्षिय  ल्हाक्पा तामाङलाइ घाईते  बनाएको छ । घाईतेलाई उपचारका लागि गोर्खा अस्पताल ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताए ।

(प्रहरीको गोली बाट घाइते ७० वर्षिय ल्हाक्पा तामाङ काठमान्डु बिर हस्पिटलमा)

 

गाउँमा गोरु काटेर खाएको भन्दै चौकीमा उजूरी परेपछि गोरु काटेकै स्थानमा विहान ११ बजे प्रहरी पुगेको थियो । स्थानीयले गाउँमा नै कुरा मिलाऔं भन्दा प्रहरीले चौकी जाउँ भनेपछि धकेलाधकेल भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।  ‘पहिलो पल्ट चलाएको गोलिले लाक्पालाई लाग्यो’ स्थानीय प्रदीपजंग शेर्पाले भने ‘दोस्रो र तेस्रो गोली आकासमा हवाइ फायर गरेका थिए । ’ घाईते भएका तामाङ्गलाई नेपाली सेनाको टोलीले उपचारका लागि सदरमुकामतर्फ ल्याएको उनले बताए । घटनास्थल सदरमुकामबाट १७ कोश उत्तरमा पर्छ । घाइतेको भच्चेक स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । पछि काठमान्डु बिर हस्पिटलमा रिफर गरिएको छ ।

घटनाबारे थप जानकारी लिन र स्थितिलाई नियन्त्रणमा लिन सौरपानी र जौवारीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जानकारी दिएको छ । तामाङ समुदायको संस्कृतिमा गाई, गोरुको मासु खान अनिवार्य छ । धर्म निरपेक्ष राज्यमा सबैले आफ्नो धर्म अनुसारका कर्म गर्न पाउँछन् , तर गोर्खामा भने कानुनी राज्यको उपहास भएको संघीय समाजवादी पार्टी गोरखाका अध्यक्ष सुकदेव तामाङले बताए ।

प्रहरीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । प्रहरी नायव उपरिक्षक रमेश थापा सहितको टोली घटनास्थल तर्फ लागेको छ । नेपालको संविधानमा धर्म निरपेक्ष राज्य उल्लेख भएपनि कानुन भने पुरानै रहेका कारण गाई गोरु काटन् नपाईने अवस्था रहेको मानवअधिकारकर्मी एवं अधिवक्ता स्थानेश्वर दवाडी बताउँछन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %