झाडापखालाले ४० बढी बिरामी, ३ दिन पछि स्वास्थ्यका कर्मचारीले जानकारी पाए ।

Read Time:3 Minute, 12 Second

देब पचभैया

पाल्पा, साउन २७ गते – पश्चिम पाल्पाको  सिद्धेश्वरमा झाडापखालाको प्रकोप फैलिदा ४० बढी घरपरिवार प्रभावित भएका छन् । तीन दिनदेखि फैलिएको झाडापखालाले सिद्धेश्वर–४ र ५ वडाको तल्लो र माथिल्लो असारे गाउँका ४० जनाभन्दा बढी बिरामी परेका हुन् ।

४ वडामा १६ घरपरिवार र ५ मा २२ घरपरिवारका सदस्य झाडापखालाबाट बिरामी परेर मेडिकल र घरमै उपचार गरिरहेका छन् । बिरामी भएकाहरुको स्थानीय मेडिकल, तानसेन र रिडीमा उपचार भईरहेको स्थानीयले जानकारी दिएका छन् ।

झाडापखालाबाट बिरामी परेका चार जनाको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभास, पाँच जनाको गुल्मीको मनवाक, पाँच जनाको देउले र ४ जनाको गुल्मीकै अघाहा भन्ने स्थानमा उपचार भईरहेको स्थानीय लोकबहादुर बुढाले जानकारी दिए ।

तीन दिन अघि गाउँमा ४-५ जनाबाट सुरु भएको झाडावान्त अहिले गाउँभरि फैलिएको छ । सिकिस्त भएका स्थानिय २५ वर्षका मन्जु गाहा र ३५ वर्षका विष्णु बुढालाई काठमाडौँ उपचार गर्न लगिएको छ ।

आईतबार देखि झाडा बान्ताको समस्या भएपनि मंगलबार बेलुकी मात्रै  उपस्वास्थ्य चौकीका कर्मचारीले थाहा पाएपछि  गाउँमा जीवनजल, मेट्रो र सिप्रो बाँडिएको छ । अधिकांश बिरामीलाई गाउँमै सलाइन दिएर उपचार गरिएको छ ।

झाडापखाला कसरी फैलियो त्यस बारेमा आफूहरूलाई जानकारी नभएको स्थानियले बताएका छन् । झाडापखाला नियन्त्रण गर्न सदरमुकाम तानसेनबाट चिकित्सक सहितको टोली मंगलबार बेलुकी मात्रै  गाउँमा पुगेको  पाल्पाका सहायक प्रमूख जिल्ला अधिकारी निरन्जन ज्ञवालीले जानकारी दिए ।

युनाईटेड मिसन अस्पताल पाल्पाका डाक्टरहरु लाई लिएर गएको स्वास्थ्य कार्यालय पाल्पाको टोली मंगलबार बेलुकी साढे नौ बजे मात्रै झाडापखाला प्रभाबित क्षेत्रमा पुगेको छ । प्रभाबित क्षेत्र पुगेका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सिअहेव मीनबहादुर विष्टले बिरामीको रातभर भएपनि स्वास्थ्य चेक जाच गरिने जानकारी दिए। उनले छिमेकी छहरा स्वास्थ्य चौकीको सहयोगमा बिरामीको उपचार भईरहेको पनि जानकारी दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %