भूमीपुत्र साथीलाइ पत्र – (स्मृतिको पाना बाट)

२०औं बिस्व आदिबासी दिवसको सन्दर्भ

बिजय हितान 

 

(नेपाल आदिबासी जनजाती महासंघ स्थापना हुनुभन्दा अगाडिका सांगठनिक बिस्तारका कृयाकलापको जानकारी मुलक एक ऐतिहासिक पत्र)

 

 

 

 

 

 

 

 

 

 

श्रीमान जयबहादुर हितानमगर ज्यु                                     

सम्योजक नेपाल मंगोल जनजाती सम्मेलन 

भैरहवा

मिती- ०३७/११/३०                             

देशी लाइन, भानु चोक

धरान-६/२१, सुनसरी 

महाशय,

याँहाको प्रिय निम्तो मिती ०३७/११/२६ गते साँझ प्राप्त भयो। जस्को निम्ती हृदय देखी आभार प्रकट गर्दछु। याँहाको पत्र तथा पम्प्लेटहरु पटक पटक पाइनै रहेछौं। पस्चिमका साथीहरुको जागरुकता र एकताको हामी प्रशंसा गर्दछौँ। हामी पूर्वका किराँतिहरुलाई सम्झना एबम माया गरेको बदला हामीले हाललाई केही दिन नसकेता पनि भोली एक भै पसिना र रगत दिन सकौंला भन्ने आत्मा बीस्वास छ।  

यस पटक समय छोटो पाएकाले २-३ कारणबाट आफु ब्यस्त हुँदा याँहाहरुको त्यस भेलामा चिना पर्ची गर्न तथा भेटघाट गर्ने र सम्मिलित हुन असमर्थ भएको कुरालाई बडो दु:खको साथ हामी छमा याचना गर्दछौं। यो हाम्रो निम्ती ठुलो दुर्भाग्यको कुरो भयो । तरै पनि भबिस्यमा अन्य भेलाहरुमा अवस्यै सम्मिलित हुने बिस्वास दिलाउन चाहेका छौं।

हितान ज्यु, यहाँहरुको उत्साह, एकता, लगनशिलता र द्रिढताको आवाज नेपाल अधिराज्य भर त के बिस्वभरिनै फैलियोस र एउटा भुइचालोले यो समाजको निरङ्कुशता, असमानता, अज्ञानता, कुचक्रता, र पक्षपातपूर्ण एकाधिकार साम्प्रादायकता को महललाई ध्वासं पारी चकनाचुर पार्नेछ भन्ने हामीलाई द्रिढ बिस्वास लागेको छ।

हामीले एउटा पवित्र कार्य गर्न खोजिरहेका छौं। हाम्रो मंगोल जनजाती (पिछडिएका बर्ग) को आफ्नो जन्म सिद्द अधिकार ‘समानताको आधारमा जिउनु’ पाउनु पर्छ। कसैलाई पर र कसैलाई वर गर्ने शासक बर्ग, उच-निचको छाप लगाउने, धर्मको आडमा राजनीति गर्नेहरुको जरै देखी अनुमुलन नगरि हामीले बिसाउनु हुन्न। तर याँहा हामीले के बुद्दी पुर्याउनु पर्ने छ भने एक थरिको संगठन मात्र नहेरेर समुचा मंगोल जनजाती (पिछडिएको बर्ग) को सयुक्त संगठन गर्नु आजको हाम्रो बलियो माग भएको छ। जसको संगठन पूर्व, पस्चिम, उत्तर, दक्षिणलाई गर्ने उद्देस्य प्रमुख उद्देस्य हुन गएको छ। यस सङठनमा हाम्रो बिचारमा निम्न कुराहरुको मध्यनजर राख्नुपर्ने देखिन्छ।  

(क) एउटा कार्यपत्र (बिधान) को तर्जुमा ।  

(ख) जिल्ला स्तरिय संगठन ।

(ग) अञ्चल अञ्चल गाभेर चार छेत्रमा छेत्रीय संगठन।  

(घ) केन्द्रिय स्तरको संगठन जसमा ब्युरो को छुट्टै स्थापना।

(ङ) संगठनको कोष।  

(च) संगठनको कार्यकर्ताको छनोट गर्दा बिस्वासघाति र सरकारी गुप्तचरको प्रबेस हुनबाट एकदमा सचेत हुनु। यदी त्यस्तो ब्याक्ती कथान्काल प्रबेश भएको बोध हुन आएमा सो को सफाया गरी सङठनमा बिशुद्दता ल्याउने।

(छ) संस्था रजिस्ट्रेसन गर्न परेमा गर्न लायकको बिधान (कार्यपत्र) तयार पार्ने। ‘देखाउने दाँत, चबाउने दाँत’ कसैलाई न बताउने।

(ज) नभए गोप्य सन्चालन गर्ने, जबसम्म तमाम गाउँबासिहरुले सहयोग दिने बिस्वास अधिकांस हुने छैन।

सारांसमा समाजको आर्थिक, शैछिक, सँस्कृतिक, सुधारको कार्यक्रम उद्रित भएको होस। त्यस बिधानले एउटा आफन्तको र एकताको भावना जाग्रित गरोस भन्ने हाम्रो सुझाव छ। अन्तमा त्यस रमाइलो बनभोज व सम्मेलनको सौहार्दपुर्ण बातावरणमा सफल होस भन्ने शुभकामना साथ हामी सबैको तर्फबाट स्नेह र प्रेम साथ फेरी भेट्ने आशामा बिदा चाहन्छु।

याँहाको आजीवन सफल चाहने साथी  

प्रेम सिङ लिम्बु

(स्व. जयबहादुर हितानको डायरिबाट उद्रित)