२० औं विश्व आदिवासी दिवस विशेष सप्ताहव्यापी कार्यक्रम जारी ,
पहिचान, संघीयता र तमुवानबारे अन्तरक्रियात्मक गोष्ठी सम्पन्न ।
रूद्र श्रीसमगर
पोखरा, २१ साउन – नेकपा–माओवादीका सचिव देव गुरुङले दोस्रो संविधानसबाट पहिचानसहितको संघीय संविधान सम्भव नभएको दाबी गरेका छन् ।
२० औं विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीद्वारा बुधबार पोखरामा आयोजित ‘पहिचान, संघीयता र तमुवान’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै सचिव गुरुङले वर्तमान संविधानसभाबाट जनताको पक्षमा संविधान जारी हुन नसक्ने ठोकुवा गरे ।
‘अघिल्लो संविधानसभा हामीले दुई तिहाई हस्ताक्षर गराउँदा त संविधान जारी हुन दिइएन’, उनले भने, ‘विद्यमान संविधानसभामा हालसम्म सत्तामा हालीमुहाली गर्दै आएकाहरूको बहुमत छ, यस्तोबाट हामीले उत्पीडित पक्षमा संविधान आउँछ भनेर आशा गर्नु बेकार हुन्छ ।’ अहिलेको संविधानसभाले देश र जनताको पक्षमा संविधान निर्माण गर्न नसक्ने दाबी गर्दै उनले जनताको संविधान निर्माणका लागि दुई वटा विकल्प भएको बताए ।
‘पहिलो विकल्प भनेको सम्झौता हो, त्यसका लागि सबै राजनीतिक दलहरूबीच सहमति कायम गर्ने साझा थलो बनाउनु आवश्यक छ’,‘नभए दोस्रो विकल्प भनेको सडक आन्दोलन नै हो, सडक आन्दोलनकै बलद्वारा जनताको पक्षमा संघीय संविधान जारी गर्नुपर्छ ।’
सचिव गुरुङले ऐतिहासिक पहिचान र उत्पीडनको संकेतका आधारमा पहिचानसहितको संघीयता आवश्यक भएको बताए । राज्यले सदियौंदेखि गर्दै आएको उत्पीडन र ऐतिहासिक पहिचानका आधारमा तमुवान स्वायत्त राज्य हुनुपर्ने धारणा राखेका थिए ।
‘तमुवान इतिहाससँग जोडिएको प्रश्न हो, यो भूगोलको नाम हो’, पूर्व स्थानीय विकास तथा कानुन मन्त्री समेत रहेका गुरुङले भने, ‘तमुवान ऐतिहासिक पहिचान र उत्पीडनको संकेत हो ।’ पहिचानसहितको संघीयता र तमुवान स्वायत्तताका लागि सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, दलित, मधेशी, महिलाका बीच सहकार्य हुनुपर्नेमा जोड दिँदै उनले संघीयता भनेकै सहकार्यको मान्यता भएकाले सबै राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्ने उल्लेख गरे ।
एक अर्को प्रसंगमा उनले पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण नभइ राज्यमात्र एकीकरण गरेको उल्लेख गरे । ‘पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेर एकात्मक प्रणालीको स्थापना गरे’, सचिव गुरुङले भने, ‘एकात्मक प्रणालीकै कारण नेपालमा विदेशीको थिचोमिचो बढ्दै गयो र अन्य आन्तरिक राष्ट्रियताले पनि सुदृढ हुने अवसर पाएनन् ।’
नेकपा–माओवादीकी वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला सेक्रेटरी सावित्री दुरा ‘आस्था’ले अधिकारका कुरा गरिरहँदा सधैं औपचारिकमा मात्र सीमित हुन नहुने भन्दै आदिवासी जनजाति आन्दोलनको समग्र समीक्षा गर्नुपर्ने बेला आइसकेको उल्लेख गरे ।
नेपाली कांग्रेसनिकट नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष अशोककुमार भट्टचनले आदिवासी जनजातिहरू सचेत भएर अघि बढ्नुपर्ने बताउँदै एकले अर्काको पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिए ।
नेकपा (एमाले)निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष टेकबहादुर गुरुङले आदिवासी जनजातिहरूले आफ्नो मातृभाषामा शिक्षा दिने कुरालाई जोड दिनुपर्ने बताउँदै मातृभाषा जोगाउन आफैं अग्रसर हुनुपर्नेमा जोड दिए ।
एकीकृत नेकपा (माओवादी) कास्कीका सह–सचिव धर्म गुरुङले एकजुट भएर सडकबाटै पहिचानसहितको संघीय संविधान जारी गराउन दबाब दिनुपर्ने बताउँदै आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प नभएको बताए ।
संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङले वर्तमान संविधानसभाबाट पहिचानसहितको संघीय संविधान नबन्ने उल्लेख गर्दै संघीय संविधान जारी गराउन सडक आन्दोलन नै अहिलेको उत्तम विकल्प भएको बताए ।
नेकपा (एकीकृत)निकट अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) कास्कीका अध्यक्ष लालकाजी गुरुङले आदिवासी जनजातिहरू आफ्नो पहिचान र अधिकारको निर्णायक लडाइँमा उत्रनुपर्ने बेला आएको उल्लेख गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीकी अध्यक्ष राजकुमारी भुजेलले दोस्रो संविधानसभापछि निराश भएका आदिवासी जनजातिहरूलाई २० औं विश्व आदिवासी दिवसले नयाँ उत्साहको सञ्चार गर्ने विश्वास व्यक्त गरीन् ।
कार्यक्रममा थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचन, तमु धिं नेपालका केन्द्रीय सचिव गिरीप्रसाद गुरुङ, ङ्योए तमु धिं लेखनाथका महासचिव मनबहादुर गुरुङ, पार्दी तमु समाजका अध्यक्ष क्या. चेतबहादुर गुरुङ, सिर्सेकोट तमु समाजका नेम गुरुङ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका सचिव प्रेम रोकामगर, अखिल (क्रान्तिकारी)का नारायण गिरी, नेपाल तामाङ युवा घेदुङ कास्कीका सुक घले, नेपाल तमु विद्यार्थी छोंज धिं पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष काजी गुरुङलगायतले विभिन्न जिज्ञासा तथा आ–आफ्नो धारणा राखेका थिए ।
महासंघका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण ग्याल्मोले र महासंघका जिल्ला सदस्य एवं नेपाल छन्त्याल संघ कास्कीका सचिव बमबहादुर छन्त्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
२० औं विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीको तत्वाधानमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार बिहान राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्की र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयुक्त आयोजनामा थकाली सेवा समिति, नदीपुरको सभाहलमा ‘मातृभाषा कविगोष्ठी एवं अन्तरक्रिया’ कार्यक्रम हुने महासंघका सचिव पूर्ण ग्याल्मोले जानकारी दिए ।
