देब पचभैया
काठमाडौं, २१ साउन – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार, आइभीए अवार्ड २०१४ को घोषणा गरेको छ ।
फोनिज अन्तरगत एसियामा आदिवासी आवाज परियोजनाको आइभीए अवार्डबाट छापामा कान्तिपुर दैनिकका प्रताप विष्ट, एफएम रेडियोको तर्फबाट रेडियोमैत्रीका सन्चाकुमारी लामा र टेलिभिजनबाट एबीसी टेलिभिजनका मिलन लिम्बुले उक्त पुरस्कार पाउने भएका छन् । फोनिजले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै उक्त पुरस्कारको घोषणा गरेको हो ।
पुरस्कार छनौट समितिका संयोजक डा. कृष्ण भट्टचनको संयोजकत्वमा मिति २०७१/४/१२ मा बसेको समितिको बैठकले तीनै विधामा प्राप्त आवेदन, समाचार समाप्तिको विष्लेषण एवं मुल्याङ्कनको आधारमा निर्णय गरेको थियो । पुरस्कृत पत्रकारलाई फोनिजको स्थापना दिवस तथा विश्व आदिवासी दिवसका सन्दर्भमा साउन २७ गते प्रज्ञाभवन कमलादीमा आयोजना हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार सूचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा प्रदान गरिनेछ । पुरस्कारको राशि प्रतिब्यक्ती ४० हजार रुपैंयाँ रहेको छ । पुरस्कारका लागि आवेदन दिने सम्पूर्ण संचारकर्मी तथा छनौट समितिका साथै ब्यबस्थापन गर्न गठित प्रतिनिधि र समितिलाई समेत फोनिजले विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरेको छ ।
