भैरब आङ्ला, धरान
किरात जनवादी वर्कर्स पार्टीका सह सैन्य कमाण्डर, खोटाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य दिक्तेल नगरपालिका–४ का ३३ वर्षीय परिवर्तन भनिने मनिन्द्र राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीचौकी आक्रमण, हातहतियार तथा वन्दोवस्तीको समान लुटपाट तथा जिल्लावासीसँग भारी मात्रामा चन्दा आतंक मच्याएको आरोपमा उनि विरुद्ध हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार मुद्दा चलाईएको थियो । विशेष प्रहरी व्यूरो बिराटनगरका प्रहरी नायव उपरिक्षक राजकुमार वैद्यवार नेतृत्वको टोलीद्धारा बिराटनगरमा पक्राउ गरिएका उनलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ गरिएका उनि विरुद्ध यसअघि जिल्ला प्रशासन कार्यालयले २०७० माघ १२ गते पक्राउ भएको मितिदेखि ५ वर्षसम्म कैद सजाय हुने फैसला गरिसकेको छ । म्याद बुझी म्याद गुजारी फरार रहेका प्रतिवादी मनिन्द्र राईसँगै अन्य ६ जना वर्कस कार्यकर्ताको हकमा समेत पक्राउ भएको मितिदेखि ५ वर्षसम्म कैद सजाय हुने फैसला सुनाईसकेको छ । यसरी फैसला भई फरार रहेकाहरु भुपेन्द्र राई, कृष्ण परियार, अम्बर लिङदेन, मिना खम्वु, रविन राई र बिनेस राई रहेका छन् । किरात जनवादी वर्कस पार्टीले २०६७ वैशाख २१ गते खोटाङको नुनथला प्रहरी चौकी लुटपाट गरी हातहतियार तथा वन्दोवस्तीको समान लुटेका थिए भने २०६४ माघ ७ गते खोटाङको हुक्नाजोर, देविस्थान र चिसापानी प्रहरी चौकी आक्रमण गरी हतियार तथा वन्दोवस्तीको समान लुटेको अभियोगमा मुद्दा चलाईएको थियो ।
