देब पचभैया
म्याग्दी ७ साउन- म्याग्दीको शिख गाविस ६ स्थित खोप्रा लेकमा बुधबारदेखि चौरी गाईको आलो
रगत पिउने मेला सुरु भएको छ ।
नांगी–पाउद्धार संयुक्त चौरीपालन समितिको आयोजनामा भएको मेलामा हिमाली भेगमा पाईने विभिन्न जडिवुटी खाएका चौरी गाईको आलो रगत पिएर उपचार गराउन सर्वसाधारणको खोप्रा लेकमा भिड लागेको छ । यार्सगुम्बा, जटामसि, निरमसी,पाँचऔले लगायतका जडिबुटी पाईने चरनमा चरेका चौरीगाईको आलो रगत पिएमा ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरीक कमजोरी र हाडजोर्नी सम्बन्धि रोग निको हुनका साथै शारिरीक स्फुर्ती बढ्ने भएकाले रगत पिउन आउने बिरामीहरुको संख्या बर्षेनी बढ्दै गएको नांगी–पाउद्धार संयुक्त चौरीपालन समितिका अध्यक्ष रुद्रबहादुर तिलीजा मगरले जानकारी गराए । पाँच दिनसम्म चल्ने मेलामा शिख, घार, नारच्याङ, भुरुङ तातोपानी, दाना, झिँ, पाखापानी, घतान, पुलाचौर, बेनीसंगै पोखरा र काठमाडौबाट समेत पाँच सय जना भन्दा बढीले रगत पिउने अनुमान गरिएको समितीका सचिब भिम पुनले बताएका छन ।
अध्यक्ष मगरका अनुसार प्रतिगिलास ८० रुपैयाका दरले मेलामा चौरी गाईको रगत बिक्री गरेर भएको आम्दानी हिमाञ्चल उच्च मावि नांगी र शिखको पाउद्धमावि सञ्चालन गर्न खर्च गरिदै आएको छ । बिशेष प्रकारको छुराको सहयोगले चौरीगाईको घाँटीबाट २० देखि २५ गिलासम्म रगत निकाल्ने र यसरी रगत निकाल्न चौरी गाईको स्वास्थ्यमा कुनै असर नपर्ने रगत निकाल्ने काम गर्दै आएका (आम्ची) र्पतबहादुर चोचाङ्गी मगरले बताए । शिखको खोप्रामा प्रत्येक वर्षको साउन र लरेनीमा फागुन महिनामा आयोजना हुने मेलाका लागि साढे दुई सय चौरीगाई पालीएको छ ।
म्याग्दीको खोप्रा लेकमा चौरी गाईको आलो रगत पिउने मेला सुरु
Read Time:2 Minute, 32 Second
