देब पचभैया
पाल्पा साउन ७ गते – नेल्टा पाल्पाले शिक्षकदेखि प्रशिक्षकसम्म भन्ने मूल विषयवस्तुमा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शैक्षिक तालिम केन्द्र, पाल्पामा सम्पन्न गरेको छ ।
तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि पाल्पाका जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले सहभागीहरूलाई आफ्नो र अरू सहकर्मीहरूको कक्षा शिक्षणमा सुधारात्मक प्रभाव पार्न अनुरोध गरे । उनले विद्यालयहरूले अंग्रेजी माध्यममा शिक्षण शुरू गरेको सन्दर्भमा शिक्षकको अंग्रेजी भाषा र शिक्षण सीपको विकास हुनु जरूरी भएको बताए । अंग्रेजी नेपालीहरूको मातृभाषा नभएका कारण सिक्नका लागि कक्षामा अनुकूल वातावरण निर्माण गर्न शिक्षकले काम गर्नुपर्ने बताए । अर्का अतिथि शैक्षिक तालिम केन्द्र पाल्पाका वरिष्ठ प्रशिक्षक यम बहादुर के. सी. आफूले पढ्दाको परम्परागत विधि कै निरन्तरता हुनुका कारण सिकाइ प्रभावकारी नभएको बताए । मुख्य प्रशिक्षक तथा नेल्टा पाल्पाका सल्लाहकार गोपाल प्रसाद वश्यालले अंग्रेजी भाषा विषयको सिकाइ उपलव्धी बढाउनका लागि नेल्टाले हरेक स्रोत केन्द्रस्तरमा तालिम सञ्चालन गर्ने गरी रणनैतिक योजना तयार गरेको बताए ।
पाल्पाका विभिन्न विद्यालय र क्याम्पसमा शिक्षण गरिरहेका २० जना आजीवन सदस्यहरू सहभागी यस तालिममा नेल्टा पाल्पाका सल्लाहकार गोपाल प्रसाद वश्यालले शिक्षण, प्रशिक्षण र सहजीकरणका विशेषताहरू, शिक्षकका रुपमा र प्रशिक्षकका रुपमा हुने जिम्मेवारी वीचका समानता र फरक, असल अंग्रेजी भाषा प्रशिक्षकका पेशागत, वैयक्तिक र सामाजिक गुण, सहजीकरण प्रक्रिया र तालिम सत्र सञ्चालन निर्देशिका निर्माण जस्ता विषयमा र नेल्टा पाल्पाका अध्यक्ष रामनाथ नयौपाने र आजीवन सदस्य लोकेन्द्र थापाले प्रभावकारी प्रस्तुतिका बारेमा सहजीकरण गरेका थिए ।
सहभागीहरूको चाहना अनुसार तालिम सत्र तथा पाठ योजना निर्माण गर्ने गरी पुनः दुई तालिम सञ्चालन गर्नै निर्णय समेत नेल्टाले गरेको छ ।
शाखा उपाध्यक्ष खेम बहादुर सारूको स्वागतबाट शुरू भएको तलिम समापन कार्यक्रम अध्यक्ष रामनाथ न्यौपानेको अध्यक्षता र सचीव कमल राज बस्यालको सञ्चालनमा चलेको थियो ।
