नागरिकताका लागि लड्दै बाँकेको वादी समुदाय

Read Time:7 Minute, 52 Second

दिपा आले , बांके 
 

नेपालगन्ज, ८ प्रगतिशील मार्गकी सुबनी नेपालीले धेरै समय कुरेपछि मात्रै नागरिता बनाउन सकिन् । तर नागरिकतामा बाबु पत्ता नलागेको भनेर जिल्ला प्रशासन कार्यालयले लेखिदियो । जसले गर्दा उनलाई आजभोलि आफू संग अध्ययन गर्ने साथीसंगीको अगाडि आंखा जुधाएर बोल्न समेत असहज भइरहेको छ । अध्ययनमा स्नातकोत्तर गर्दै गरेकी सुबनीलाई कतै राम्रो जागीर खाउ भने सबैले आफ्ना बारेमा नालीबेली सोध्ने हो कि भन्ने उत्तिकै चिन्ता छ । यो चिन्ता सुबनीको मात्रै नभई बाँके जिल्लाका अधिंकाश वादी समुदायका युवायुवतीहरुको हो । एकातिर नागरिकता पाउन गाह्रो भएपनि जीवनभर समाजमा अपहेलित भएर बांच्नु पर्ने विडम्वना छ ।

सुबनी भन्छिन् –“एक त जातले ठग्यो अर्कोतिर नागरिताले ।” राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित बादी समुदाय चारैतिरबाट ठगिनु परेको उनको ठम्याई छ । “हातमा डिग्रीको सर्टिफिकेट भएर के नै हुन्छ र यदि उसले समाजमा मानिसले पाउने इज्जत पाउंदैन भने”–सुबनीले दुखेसो पोखिन् । आमाबाट नागरिकता पाउने अधिकार राज्यले ब्यवस्था गरेको छ तर ब्यवहारमा लागु भएको छैन के हामी बादी समुदाय नेपाली नागरिक होइन र सुबनीले प्रश्न गरिन् । उनले आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ भन्ने ऐनकानुनका बारेमा सम्बन्धीत निकायलाई नभनेकी होइनन् तर प्रशासनले उनको कुरालाई रत्तिभर सुनवाइ गरेन । नागरिकताकै लागि बारम्बार जिल्ला प्रशासन कार्यालय धाउन थालिन् । दिन बित्यो, हप्ता बित्यो महिनौ बित्दा समेत प्रशासनले बेवास्ता नगरेपछि उनले बादी समुदायका अगुवालाई समेत जिल्ला प्रशासन पुर्याएकी थिइन् ।

नागरिकताको विषयमा सुबनी नेपाली मात्र होइन इला नेपालीको पीडा झनै दयनीय छ । नेपाली नागरिकता प्राप्त गर्न इलाले गर्भवती अवस्थामा स्वास्थ्यले साथ नदिंदा पनि जिल्ला प्रशासन धाइन् । सहज तरिकाले प्रशासनको ढोका ढकढक्याउँदा समेत राज्यले उनलाई आमाको नामबाट मात्र नागरिकता दिएनन् । पेटको बच्चा जन्मेर टुकु टुकु हिंड्ने बेला भइसक्दा बल्ल उनले नागरिकता पाइन् । तर नागरिकतामा फेरि त्यहि लेखिएको रहेछ, – “बाबु पत्ता नलागेको“ । इला नेपाली भन्छिन्– “नागरिकता छ भन्ने मात्र हो समाजमा हाम्रो अस्त्तिव छैन । “

बाँकेमा बादी समुदायहरु संख्या १ सय ३३ घर धुरीमा फैलिएको छ । बांके जिल्लाको विभिन्न गाविसमा यी समुदायको बसोबास रहँदै आएको छ । बादी समुदायहरुको पुख्र्यौली पेशा माछा पार्ने, जाल बनाउने, मादल बनाउने हो । विगतका दिनमा यी जातीहरु आफ्नै पेशा गरेर जीविकोपार्जन गर्दै आइरहेका पनि थिए । तर समय परिवर्तन सँगै यी बादी समुदायका पेशाहरु दिनप्रतिदिन लोप हुँदै गइरहेको छ । एकातिर आफ्नो पुख्यौली पेशा हराउंदै गइरहेको छ भने अर्कोतिर बादी समुदायले समाजमा इज्जतका साथ आफ्नो अधिकार प्रयोग गर्न पाएका छैनन् । तर पनि जिविकोपार्जनकालागि यी समुदायका ब्यक्तिहरुले चकलेट पसल, खुद्रा पसल, चिया पसल, लेबर काम तथा केही पढेकाले अफिस र विद्यालयमा पढाउने गर्दै आएका छन् । समाजको अगाडि पहिचान दिने नागरिकतामा बाबु नभएको, पितृत्व पत्ता नलागेको, बाबु ठेगान नभएको लेखिदिदा बादी समुदायका युवायुवतीहरुमा मानसिक पिडा मात्र होइन सामाजिक हिंसा समेत भएको बताउंछिन् प्रगतिशील टोलकी एकता नेपाली । उनले त जसोतसो नागरिकता बनाईन तर आफ्नै घरटोलमा बस्दै आएका साथीभाई दिदी बहिनीको नागरिकतामा बाबु पत्ता नलागेको – ठेगान नभएको नागरिकता आफ्ना साथीहरुको हात पर्दा साह्रै दुःख लागेको एकताले बताइन् । एकताले प्रश्न गरिन्– “समाजले वर्षौदेखि विभेदमा पारिदै आएका हामी बादी समुदायलाई कहिले सम्म अन्याय गर्ने के हामी अन्य नेपाली नागरिक जस्तै सम्मानका लायक छैनौ र ?

बादी समुदायका युवायुवतीलाई नागरिकतामा समस्या भएपछि अहिलेका नयां पुस्तामा एकजुट हुन थालेका छन् । उनीहरु कसरी आफ्नो नागरितासंगै सम्मान पनि पाउँन सकिन्छ भन्नेमा लागेका छन् । अहिले आमाको नामबाट मात्र नागरिकता पाउनु पर्छ भनेर केन्द्रीय स्तरबाट दवाव नदिएपनि यस्तै अवस्था सधैं लागु भएमा स्थानिय तहमै दबाव सिर्जना गर्नुपर्ने बाध्यता रहेको समाजसेवी महेश नेपाली बताउँछन् । नेपालको कानुनले आमा वा बाबु जसको नामबाट पनि नागरिकता दिन मिल्ने भनिएतापनि वादी समुदायको हकमा त्यो पूर्णरुपमा लागू नभएको उनको भनाइ छ ।

नेपालगन्ज प्रगतिशील ८ का अगुवासमाजसेवी मन्जु नेपालीले लामो समयदेखि वादी समुदायको हकअधिकार सम्बन्धी काम गर्दै आइरहेकी छिन् । उनले बादी समुदायको नागरिकता विषयमा मात्र होइन राज्यले दिनु पर्ने सबै प्रकारका अधिकारका बारेमा आफ्नो समुदायलाई जानकारी दिने र चेतना फैलाउने काम गछिन् तर उनी पनि आफ्नो समुदायलाई राज्यले गरेको ब्यवहार प्रत्ति घोर आपत्ति जनाउंछिन् ।   नागरिकताकै विषयमा पटक पटक नगरपालिका, गाविस र जिल्ला प्रशासन धाउनु पर्दा वादी समुदाय राज्यबाट अपहेलित भएकोे बताइन् । बादी समुदायका युवायुवती, महिलापुरुषलाई परेको समस्यामा सधैं हातोमालो गर्ने मञ्जु कतिपटक त नागरिकताकै विषयमा सम्बन्धीत निकायमा चर्काचर्की परेको बताउंछिन् । उनी भन्छिन् जति नै कराएपनि हाम्रो आवाज सुनुवाई भएन । तर पनि म आफ्नो समुदायको अधिकारकोलागि सधै लडिरहनेछु ।

यस विषयमा बुझ्नका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा “कानूनबमोजिम नै गरेको“ भन्ने उत्तर सम्बन्धित अधिकारीले दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %