हीरक महोत्सवका अवसरमा प्रवचन कार्यक्रम
देब पचभैया
पाल्पा ,असार २५ – त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले हीरक महोत्सव प्रवेशको अवसरमा ‘त्रिभुवन बहुुमुखी क्याम्पसको उन्नयनमा हाम्रो दायित्व’ विषय प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्राध्यापकहरुले आफुहरुले दायित्व बोधका साथमा प्राध्यापन पेशालाई मर्यादित बनाउन तल्लिन रहेको बताएका थिए । कार्यक्रममा क्याम्पस प्राध्यापक संघका इकाई सभापति जीवनबहादुर थापाले विद्यार्थी तथा प्राध्यापक तथा सम्पूर्ण सरोकारवालाहरुले अपनत्व ग्रहण गरेर आफ्ना क्रियाकलाप अगाडी बढाउनु जरुरी रहेको बताए । प्राध्यापकहरु पुष्कर आचार्य, कृष्ण बहादुर कार्की, गणेश प्रसाद पाण्डेले अनुसन्धानात्मक लेख रचना सिर्जना गर्न तथा सीपयुक्त व्यक्ति बनाउन आधुनिक शिक्षा आजको आवश्यकता भएको बताएका थिए । सोही अवसरमा बोल्दै पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले पाल्पाको गौरवको रुपमा रहेको क्याम्पसको प्राज्ञिक भूमिकामा कमी रहेको उल्लेख गर्दै कार्ययोजना विनाका कामबाट उपलब्धि नहुने बताए । कर्मचारी संघकी चित्रा गैरेले विद्यार्थीहरुको सहजताकालागि आफूहरुले निरन्तर रुपमा कार्य गरि आएको बताइन् ।
सोही अवसरमा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन पाल्पाका सभापति हरिबोल भट्टराई तथा अन्य विद्यार्थी संगठनका प्रतिनिधीहरुले विद्यार्थी सङ्ख्या दिनानुदिन घट्दै गइरहेको बताए । उनीहरुले क्याम्पसमा राजनीति दलका कार्यकर्ता भर्ती गर्न खोजीएको भन्दै यदि भर्ती गरिएमा आफुहरुले घोर विरोध गर्ने समेत बताएका थिए । क्याम्पसमा रुची, क्षमता अनुसारको विषय थप गर्नुपर्ने भन्दै नीजि क्याम्पसलाई प्राथमिकता दिएर प्राध्यापन गर्नु नै क्याम्पसकालागि दुर्गती भएको विद्यार्थी नेता केशव बस्यालले बताए ।
सहायक क्याम्पस प्रमुख युवराज पौडेले क्याम्पसको त्रिभुवन विश्वविद्यालय भन्दा पुरानो इतिहास रहेको बताउँदै यस क्षेत्रका जनताले क्याम्पसको उन्नयनमा चिन्तन गर्नुपर्ने बताए । कार्यक्रम क्याम्पस प्रमुख केशवराज शर्माको सभापतित्व र टंक पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको आवश्यकतालाई मध्यनजर गरेर त्रिभुवन बहुमुखी क्याम्पस २०११ साल असार २५ गते पाल्पाको तानसेनमा स्थापना गरिएको थियो । हाल यहाँ शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायको अध्यापन हुँदै आएको छ ।
