एसएलसी उत्तिर्ण मगर विद्यार्थीलाई सम्मान

स्व. धनु थापामगरको नाममा दुई लाख रुपैयाँको छात्रबृत्ति अक्षय कोष स्थापना

मनोज घर्तीमगर  

पोखरा, २२ असार – नेपाल मगर सङघ कास्कीले २०७० सालको एसएलसी परीक्षामा उत्तिर्ण मगर विद्यार्थीलाईसम्मान गरेको छ । 

 

पोखरामा सङघको सभाहलमा शनिबार आयोजित ‘बधाई तथा सम्मान’ कार्यक्रममा विशिष्ट श्रेणिमा उत्तिर्ण १३, प्रथम श्रेणीमा उत्तिर्ण ६०, द्वितिय श्रेणीमा उत्तिर्ण  २४ र तृतीय श्रेणीमा उत्तिर्ण  ९ जना गरी १०६ जना मगर विद्यार्थीलाई प्रमुख अतिथि सङघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर र अन्य अतिथिले सम्मान गरे । सबै विद्यार्थीलाई सेतो टीका, खादा र प्रशंसापत्र दिइएको थियो ।

कास्की जिल्लाभरिका मगर विद्यार्थीमध्ये सोसल पब्लिक स्कूलबाट ८५.६२ प्रतिशत अंक ल्याइ सर्वोत्कृष्ट भएकी शान्ति रानामगरले मगर सङघले प्रदान गर्दै आएको छात्रवृत्ति पाएकी छिन् । कार्यक्रमा नेपाल मगर सङघ कास्कीका सह–उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले स्वर्गीय पत्नी धनु थापामगरको नाममा स्थापना गरिदिएइको दुई लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोषबाट हरेक वर्ष प्रदान गरिने छात्रवृत्तिबाट समेत उनी पुरस्कृत भइन् ।

कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर, केन्द्रीय सदस्य झलकबहादुर रानामगर , नेपाल मगर सङघ कास्कीका संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापामगर, नेपाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराड्डीमगर, नेपाल मगर विद्यार्थी सङघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर, नेपाल मगर महिला सङघ कास्कीकी सल्लाहकार इन्दिरा थापामगर, नेपाल मगर विद्यार्थी सङघ कास्कीका अध्यक्ष समर थापामगर, सरस्वती उच्च माविका प्राचार्य दुर्गाबहादुर थापामगरलगायतले शुभकामना दिएका थिए ।