दिपा आले बांके, नेपालगन्ज
बांके कचनापुर गाविस १ की कमारी चौधरीलाई श्रीमानले छाडेर गएपछि परिवारलाई लालनपालन गर्ने जिम्मेवारी आफ्नै थाप्लोमा परेको छ । दुईछाक जोहो गर्न का लागि उनी मजदुरी गर्न बाध्य छिन् । वर्षौदेखि आफ्नै खेतबारीमा काम गर्दै आइरहेकी कमारीलाई यति बेला भने भएको थोरै जग्गा पनि सिक्टा सिंचाईलाई दिनु पर्दा दुई छाक टार्न धौ धौ परेको छ । यो समस्या कमारीलाई मात्र होइन कमारी जस्ता सयौ महिलाले भोग्नु परेको छ ।
कमारी भन्छिन् –“सिक्टा सिंचाई आयोजना त आयो तर आफूले वर्षौदेखि जोतभोग गर्दै आइरहेको जमिन कटान हुंदा मन मात्र अमिलो भएन म रोएं पनि ।” एकातिर गरिबी, सांझ के खाउ विहान के खाउ, भएको थोरै जग्गा पनि सिक्टा सिंचाईकोलागि दिनु पर्दा मजस्तो दुखियालाई पर्नु पीर परयो । सन्तान धेरै छ काम गरी खाने जग्गा जम्मा २ कठठा मात्र ।” उनी भन्छिन् –“सरकारले हामी गरिब दुखियालाई न्याय गरेनन् । कमारी विगतलाई सम्झदै भन्छिन–“कुनै बेला हामी आफ्नै खेतबारीमा काम गर्दा, खोलामा माछा मार्न जांदा, गाई बाख्रालाई घांसपात गर्दा कति आनन्द थियो तर अहिले त चारैतिरबाट रोक लगाइएको छ । बाख्रापालन गरेर दुईचार पैसा आउने गर्दथ्यो त्यही पनि हराएर गयो । अहिले बांच्नकालागि मजदुरी नगरी खान पुग्दैन ।”
कमारी चौधरी मात्र होइन सोही गाउंमा वर्षौदेखि बसोबास गर्दै आएकी अर्का महिला जुकमानी चौधरीको जीवनयापन पनि आफ्नै छ । घरनजिक सिंचाईको लागी ठूलो नहर खनेर खाल्डो पारेपछि उनलाई पर्नु चिन्ता परेको छ । वर्षायाममा चारैतिर पानी भरिएर आफ्ना सन्तान स्कुल पढ्न जान नपाउने चिन्ताले उनलाई दिनदिनै सताई रहेको छ । त्यति मात्र नभई वर्षायाममा राप्तीको पानी समेत आफ्नै घरतिर बगेर आउने भएको हुंदा जतिखेर पनि ज्यान जोखिममा पर्ने डर छ जुकमानीलाई । वर्षायाममा १०,१२ घर डुबानमा पर्छ । परेको पानी ५,६ दिन सम्म पनि सुक्दैन । उनी भन्छिन् “हामीले बारम्बार गुहार माग्यौ । हाम्रो जग्गा पनि लगियो । घरनिर ठूलो नहर खनियो । दुई गाउंलाई जोड्ने पुल बनाई देऊ भन्दा सुनुवाई भएन । वर्षा लाग्यो भने नहरमा भरिएको पानीले डुब्ने हो कि भन्ने चिन्ता लागिरहन्छ ।” चारै तिर पानी भरियो भने बालबालिका विद्यालय जान समेत सक्दैनन् चिन्ताले मन नै खाइसक्यो जुकमानीको । हुन त पुल नबनाइएको होइन तर गाउका कृषकलाई सहज हुने गरी बनाइएको छैन । जसमा महिला तथा बालबालिकालाई झनै गाह्रो छ । नहर नबनाउंदा सोझै अर्को गाउंमा पुग्ने गरिन्थ्यो तर नहर खनेर दुई किनारा बनाएपछि पुलको माध्यमबाट जानु पर्दा धेरै टाढा परेको उनले बताए । बालबालिका महिला रातविरातमा हिड्दा जीउज्यान बचाउन नै धौ धौ छ । उनले भनिनः “पुल बनाई दिन्छौ भन्ने मान्छेहरु आएका थिए हामी जसरी पनि पुल बनाई दिन्छौ भनेका थिए तर नबनाई गए ”
बांके जिल्लाको कचनापुर गाविस वडा नं १ मा पर्ने अगैया गाउं जहां १ सय १६ घर परिवारको बसोबास रहेको छ । प्रायः जनजाति, दलित समुदायको बसोबास बढी छ । अधिकांश घर माटोले उठाएको र टिन, टायल र खरले छाएको छ । आर्थिक अवस्था निम्न भएको हुंदा प्रायः प्रत्येक घरका पुरुषहरु भारत तथा खाडीमुलुकमा रोजगारीका लागि गएको कचनपुर १ कि राजकुमारी थारुले बताइन् । उनले भनिन “गाउंघरमा काम गरी खाऊ भने काम छैन । त्यसैले भएका पुरुषहरु कि शहर जान्छन् किन विदेश तथा भारत पस्ने गरेको छ गाउघरमा महिला बालबालिका मात्र छौं । सिक्टा नआउंदा आफ्नै ठाउंमा ब्यवसाय, मजुदर गरी पेट पाल्ने गर्दथ्यौ अब त दिनहुं बस आउने हुनाले प्राय घरका पुरुषहरु बसमा चढेर रोजगारका लागि बाहिर जान्छन् महिला घर धन्दा बालबच्चा हेर्नु पर्छ । ” बेमौसमी तरकारी दुई चार घरले लगाएपनि त्यसको बजार ब्यवस्थापन नभएर झनै तरकारी कुहिएर गएको राजकुमारीको गुनासो थियो ।
वर्षौदेखि स्वतन्त्र रुपमा भोगचलन गर्दै आएका यहांका बासिन्दाहरुलाई पछिल्लो समय एकातिर बांके राष्ट्रिय निकुञ्ज र अर्कोतिर सिक्टा सिंचाई परियोजनाका कारण जिविकोपार्जनमा समस्या परेको छ । प्रमिला कुमालको यस्तै अनुभव छ –“पहिला जति सजिलो थियो काम गर्न अहिले धेरै गाह्रो छ । गाईपाल, बाख्रा पालन गरौ भने जंगलमा घांसपात गर्न पाईदैन ।” तरकारी खेती गरौ भने यता सिंचाईको काम कहिले सुरु हुने हो । हामी कृषकको पीडा जहांको तही छ । त्यति मात्र होइन सिक्टा सिंचाई सुचारु भएपछि सिक्टामा काम गर्ने कर्मचारीले महिलालाई जिस्काउने, सिटी मार्ने जस्ता हिंसा गरेको तितो यर्थात छ । कुमालले भनिन् –एक्कै महिला हिड्न पनि गाह्रो छ ।
सिक्टा सिंचाई परियोजना आएलगत्तै यहांस्थित वासिन्दाहरुले रोजगार पाउने ठूलो आशा बोकेका थिए । त्यति मात्र नभई पर्यटकीय स्थलको रुपमा चिनाउने, बेमौसमी तरकारी खेतीको ब्यवसाय गराउने, सुक्का खेतीलाई हराभरा बनाउने ठूला ठूला आश्वासन र सपनाहरु देखाएपनि भने जस्तो गराउन नसकेको बताउंछन् नेपाल राष्ट्रिय माविका ब्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर वली । उनले भने –हामी त पिंजडामा थुनिएको पन्क्षी जस्तै छौं जसलाई खान त दिइन्छ तर स्वतन्त्रता छैन । सिक्टा सिंचाई आयोजना आउनु हाम्रो लागि ठूलो उपब्धी हो तर त्यो उपलब्धीलाई प्रयोग गर्न भने पाएका छैनौ उनले भने । नहर नबन्दै फुटेको अवस्था छ । दक्ष इन्जिनियर छैन । आर्थिक अनमियता त्यस्तै । अर्कोतिर निकुञ्जले हामी अगैयाबासीले वर्षौदेखि उपभोग गर्दै आएको जलजंगल प्रति हस्तक्षेप गरेको छ । यसरी नै राज्यले हाम्रो अधिकारप्रति बन्देश लगाउने हो भने हामी कसरी बांच्ने वलीले आफ्नो गुनासो पोखे ।
२०२५ सालदेखि कचनापुर गाविस अगैयामा बसोबास गर्दै आएका कृषक दिल बहादुर चौधरीको पनि आफ्नै पीडा छ । सिक्टा सिंचाई निर्माणका क्रममा यहांका कृषकहरुले आफ्ना जग्गाहरु राज्यलाई दिनु परेको बताउंछन् । राज्यका आधिकारीक ब्यक्ति आएर डर धम्की देखाएर सिक्टा सिंचाईकोलागि जग्गा दिन बाध्य पारेको यहांस्थित कृषक दिलबहादुर चौधरी दुखेसो पोख्छन् । राज्यका मान्छे आएर तिमीहरुलाई सरकारले लालपुर्जामात्र दिएको हो सरकारले जे चाहन्छ त्यही हुन्छ भन्ने जस्ता कडा धम्की दिएको बताए उनभने के हामी नेपाली नागरिक होइनौ र ? के हामीलाई आफ्नो देशमा स्वतन्त्र भएर बस्न पाउने अधिकार छैन र ? आफूले वर्षौेदेखि उपभोग गर्दै आएको जग्गा राज्यलाई दिनु पर्दा खाना समेत नखाएको बताउंदै दिलबहादुरले आफ्नो समस्या बताए । यहांस्थित कृषकको जग्गा सरकारले सिक्टा सिंचाईकोलागि प्रयोग गरेपछि एक कठठा जमिनको जम्मा ३५हजारमात्र रकम आफूहरुलाई बुझाएको दिलबहादुर बताउंदै आफ्नो जग्गा सरकारलाई दान गरियो अर्को ठाउंमा जग्गा लिऊ भने १ कठठा जमिनको ४ देखि ६ लाख पर्ने बताए ।
नेपालकै सबैभन्दा ठूला सिंचाई आयोजना मध्ये एक मात्र बांकेमा निर्माणाधिन सिक्टा सिंचाई आयोजनाले कचनापुर गाविस र बैजापुर गाविसलाई जोड्ने काम गरेको छ । राष्ट्रिय माविका शिक्षक सत्यकुमार श्रेष्ठ बताउंछन् – सिक्टा सिंचाई आयोजनाले गर्दा यी दुई गाविसलाई पुलको माध्यमले काम गर्न सजिलो भएको छ । दिनहुं ४,५ वटा बस आउने जाने गर्दछन् । यात्रा गर्न सजिलो भएको छ । साना साना ब्यवसाय चलेको छ । हिजो खोला छेउ बाट हिड्ने जनताहरु आज पुनमाथिबाट हिड्डुल गरी आफ्नो गन्तब्यमा जान सफल भएका छन् । केही भएपनि यहांका जनताकोलागि ठूलो उपलब्धी भएको श्रेष्ठ बताउंछन् ।
तर स्थानीय विद्यालयकी शिक्षक मिरा थापा जति सिक्टा सिंचाई बनेर खुशी छिन् अर्कोतिर यहांका कृषकले जिविकोपार्जन गर्दै आइरहेको माछा पार्ने कार्यमा रोक लगाइएकोमा दुःखी पनि छिन् । त्यति मात्र होइन यहाँका बालबालिकालाई सजिलो तरिकाले विद्यालयमा जान दुई गाउंलाई जोड्ने पूल जति सक्दो चांडो बनाई दिन पनि आग्रह गर्छिंन् । उनी भन्छिन् –नाबालक बालबालिकाको भविष्य उज्ज्वल बनाउन पनि दुई गाउंलाई जोड्ने घर नजिकैबाट पूल बनाउन जरुरी छ ।
सिक्टा सिंचाईले महिला बालबालिकालाई पारेको असर
Read Time:11 Minute, 33 Second
