आशिष सूर्यवंशी
बुटवल-भाग्य ठूलो कि ? कर्म ठूलो ? जन्म दिने ठूलो कि ? कर्म दिने ? जीउने आधार नपाएका बालबालिका अथवा बाबु–आमाको माया नपाएका र बाबु आमा गुमाएका असहाय र अनाथ बालबालिकाहरुलाई माया–ममता कसले दिने ? यसरी आधार नपाएका बालबालिकाहरुको भविष्य देवदह स्थित मायादेवी अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्रले खोजी गरिरहेको छ ।
भविष्य कहाँ छ ? के अन्य सरह माया–ममता र पढ्न–लेख्न तथा खेल्न पाउने अधिकार छैन ? के फुल्न पाउने अधिकार छैन ? यसको जवाफ कसले दिने ? अमुक यस्ता प्रश्नहरुको उत्तर कहाँ मिल्छ ? उनीहरुलाई थाहा छैन । मात्र उनीलाई अन्य सरह माया–ममता पाउनु पर्छ भन्ने कुराको जानकारी छ र उनीहरुलाई यही माया–ममताको खाँचो छ । यस्ता प्रश्नहरुको उत्तर खोज्ने विभिन्न परिस्थितिका बावजुद क्रियाशिल यस्ता संस्थाहरु मध्येको एउटा उदाहरण हो यो केन्द्र । सामाजिक सेवाभाव भएका यस्ता संस्थाहरु जन्माउन भन्दा पनि टिकाइराख्न चुनौतीपूर्ण रहेको कुरा बताउछन् केन्द्रका सचिव शंकर प्यासी । बुबा बाबुराम प्यासीले २०५८ सालमा स्थापना गरेको केन्द्रले गत वर्ष बाबु प्यासीको स्वर्गरोहण भए पस्चात अभिभावक गुमाएको बताउछन् उनी ।
अहिले केन्द्रको रेखदेख बाबुराम प्यासीकी पत्नी अम्बीका प्यासीले गर्दै आएकी छिन, भने छोरा–बुहारीले साथ दिदै आएका छन् । स्थानीय सहयोग दाताहरुको दान तथा सहयोगबाट संचालित केन्द्र अहिले क्षमता वृद्धि गर्ने कार्यमा समेत लागेको छ । जिल्ला विकास समिति रुपन्देहीको २ लाख सहयोगबाट थप २ वटा कोठाको तल्ला थप गरेको छ । कोठा थप गरेपछि २४ जनासम्म बालबालिका राख्न सकिने केन्द्रका अध्यक्ष अम्बिका प्यासी बताउछिन । यस वर्ष १६ जनासम्म बालबालिका राख्न सकिने प्यासीले बताए ।
केन्द्रमा कपिलवस्तु र रुपन्देहीका ७ जना असहाय बालबालिकाहरुले आश्रम लिदै आएका छन् । बाबाको मृत्य पस्चात आमाले दोश्रो विहे गरेपछि विचल्लीमा परेकी मनिसा परियार आश्रममा आएपछि खेल्न, पढ्न पाएपछि खुशी भएको बताइन् । कक्षा ३ मा अध्ययन गर्ने ११ वर्षकी परियार यसै वर्षदेखि आश्रममा बस्दै आइकी हुन् । त्यस्तै ब्यथा बोकेकी अर्की २ कक्षामा पढ्ने ९ वर्षकी लोचना न्यौपाने पनि आश्रममा आएपछि दिदीहरुले माया गर्ने, खान–बस्न, खेल्न र स्कुल जान पाए पछि खुशी भएको बताईन् । त्यस्तै खुशी भएको बताउने २ कक्षामा पढ्ने ८ वर्षका सुनिल वि.क. धेरै पढेर डाक्टर बन्ने सपना बाँडे । केन्द्रमा सबै ठीकै भएको तर वरपर बार नलगाइएकोले राती गुजी आउछ होला वि.क. ले भने ।
दुई जना हेलारु दिदीहरु पनि संगै सुत्ने भएकोले डर भने नलाग्ने उनीहरुले बताए । लगभग प्रत्येक बालक मासिक २/३ हजार खर्च हुने भएपनि खर्च कहाँबाट जुत्छ त्यो भने प्यासीले बताउँन सकेनन् । सबै सहयोग दाताहरु कै भरमा छ उनीले थपे । देवदह गाउँ विकास समितिले वर्षेनी २५ हजार बराबरको खाद्यन्न उपलब्ध गरादै आएको छ भने स्थानीय सहयोग दाता, मठमन्दिरबाट पनि खाद्यन्न सहयोग आउने गरेको छ । यस अगाडी मेडिकल कलेज भैरहवाले बालबालिकाहरुको नियमित स्वास्थ्य चेक जाँच तथा उपचारमा सहयोग गर्दै आएको प्यासीले बताए ।
केन्द्र, संशोधित नाम तराई दलित तथा अन्य दलितको विकास मंच देवदहद्वारा संचालित छ । केन्द्रमा बस्ने सबै बालबालिकाहरु साविकको देवदह वडा नं. ६ र देवदह नगरपालिका वडा नं. ९ मा रहेको श्री नजता माध्यमिक विद्यालयमा पढ्दै आएका छन् । कक्षा १, २ र ३ मा अध्ययन गर्ने ति बालबालिका र नयाँ आउने सबै बालबालिकाहरुलाई कम्तीमा एस.एल.सी. सम्मको अध्ययन कसरी पुरा गराउन सकिन्छ भन्ने विषयमा प्यासी चिन्तीत देखिन्छन् ।
उनीहरुलाई आवश्यक स्टेशनरी, खेलकूदका सामग्री, लत्ता–कपडा, खाद्यन्न, स्वास्थ्य उपचार र हेरालुहरुकै चिन्ता रहेको सचिव प्यासी बताउँछन् । केन्द्रमा अहिले दुई जना हेरालुहरुले अत्यन्त न्युन सेवा लिई योगदान दिदै आएका छन् । प्यासीले सहयोग दाता तथा चन्दा दाताहरुको पर्खाएमा रहेको आश्रमलाई सहयोग र राय सुझाव दिन सबैलाई आग्रह समेत गरे । उनले आफ्ना बाबुले देखाएको बाटोमा लाग्ने अठोट गरेको र असहाय तथा अनाथ बालबालिकाहरुको बुबा बन्ने बताउदै गाउँ समाजमा असहाय तथा अनाथ बालबालिकाहरु भए केन्द्रमा सम्पर्क गराउनु हुन आग्रह पनि गरे ।
