गोविन्द घर्तीमगर
देवदह ४ असार – बृहत्त जनदवाव नदिए तोकिएको समयमा संविधान निर्माण हुन नसक्ने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीको भनाई रहेको छ । महासचिव सूर्यवंशीले संविधान सभा गठन भएको ५ महिना पुगिसक्दा समेत २६ सभासद मनोनयन गर्न नसक्नु संविधान नबनाउने चलखेल भएको आरोप लगाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन राष्ट्रिय भूतपुर्व सैनिक संगठन रुपन्देहीको प्रथम भेलालाई सम्वोधन गर्दै महासचिव सूर्यवंशीले उक्त कुरा बताएका हुन् । सूर्यवंशीले संविधान निर्माण तर्फ ठूला राजनैतिक दलहरु गंभिर नभएको आरोप पनि लगाएका थिए ।
संघीयता सहितको संविधान निर्माण गर्न पार्टीले देश व्यापीरुपमा जनजागरण अभियान संचालन गर्ने महासचिव सूर्यवंशीको भनाइ थियो । सोही कार्यक्रममा बोल्दै पार्टीका संघीय परिषद सदस्य एवं भूतपुर्व सैनिक ईन्चार्ज दल बहादुर विरकट्टाले देशको आर्थिक रुपमा अह्म भूमिका खेल्ने भूपुहरुलाई राज्यको मुलप्रवाहबाट बन्चित गरेको बताए । विरकट्टाले पहिचान सहीतको संघीताको संविधान निर्माणको लागि सम्पूर्ण भूपुहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
संगठनका जिल्ला अध्यक्ष नरसिं काउछाको अध्यक्षतामा भएको कार्यक्रममा भुतपुर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भिम बहादुर राना, राष्ट्रिय महिला मोर्चाका धनी आले, क्षेत्र नं ३ रुपन्देहीका अध्यक्ष छत्रदर्लामी, खर्कबहादुर बाह्रघरे लगायतले आ–आफना भनाई राखेका थिए । सो अवसरमा दिपिन राई द्धारा लिखित बंकर (आत्मकथा) किताव विमोचन गरिएको थियो । बंकर किताव प्रकाशन गर्न सहयोग गरेको भन्दै भिमबहादुर राना, चित्रबहादुर गुरुङ्ग, प्रेम थापालाई सम्मान गरिएको थियो । भेलाले ८ बुदे प्रस्ताव पासगर्दै भेला सम्पन्न भएको छ ।
