प्रहरी प्रशासनको ज्याजतीले दुइजना स्थानीयको ज्यान गयो, दर्जनौ घाइते, राज्य बेखबर ।
देब पचभैया
काठमाडौं, ३० जेठ – जडिबुटीको धनी जिल्ला भनेर चिनिन्छ डोल्पा जिल्लालाई ।
यहाँ यार्चागुम्बु, पाँच औंले, कुटुके लगायत विभिन्न प्रजातिका बहुमुल्य जडिबुटीहरु पाईछन् । यहाँ उत्पादन हुने जडिबुटी संकलन गर्न विभिन्न जिल्लाबाट शिक्षक बिद्यार्थी, युवा, महिला, ठेकेदार लगायत पुग्छन् । वर्षेनी बैशाख जेठमा गरिने यार्चागुम्बु संकलनका लागि यो वर्षपनि विभिन्न जिल्लाका ५० हजारभन्दा बढी मानिस डोल्पा पुगेका थिए ।
नेपालमा पाईने यार्चागुम्बुमध्ये सबैभन्दा गुणस्तरीय यार्चागुम्बु डोल्पामा पाईने औषधि विज्ञानको दाबी छ । डोल्पावासीहरुको आयश्रोत नै यार्चागुम्बु हो । वर्षेनी यार्चा संकलन गर्दै आएको डोल्पाका स्थानीयले यो वर्ष प्रतिब्यक्ति १५ सयका दरले शुल्क उठाउदैं आएका थिए । उनीहरुले यार्चागुम्बु संकलन गर्न आउने ब्यक्तिबाट स्थानीय वातावरण संरक्षण, सुरक्षा, त्यहा“को ब्यबस्थापन लगायतका लागि २०७१-२-१९ गते सम्ममा आठ लाख रुपैंया संकलन गरेका थिए । तर विडम्बना १९ गते कै दिन पुगेको ५३ जनाको सरकारी अनुगमन टोलीले स्थानीयले संकलन गरेको आठ लाख रुपैंया र रसिद जफत गरिदियो ।
शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद महत्त र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको समन्वयमा सशस्त्र प्रहरी निरिक्षक जीवन मल्लको नेतृत्वमा ३५ सशस्त्र जवान, जनपथ प्रहरीका १५ जना र मध्यवर्तीका सुपरभाइजर हेमराज हमाल, माथिल्लो दुनैका मानव हमाल र रेडियो डोल्पाका संवाददाता सरोज थापा लगायत अनुगमन टोलीमा सम्मिलित रहेका थिए । त्यसको भोलीपल्ट जेठ २० गते स्थानीय र अनुगमनटोलीबीच वार्ता हु“दा रसिद र आठ लाख रकम टोलीले फिर्ता नदिने भएपछि स्थानीयवासीले रसिद राखेको घरका ढुङ्गामुढा गर्दा प्रहरी प्रशासनले एक्कासी स्थानीयमाथी आतपात, लाठी चार्ज, हवाई फायर र स्थानीयलाई नै लक्षित गरी गोली प्रहार गरेपछि दुईजनाको मृत्यु तथा ३५ जनाभन्दा बढी स्थानीय घाइते भएका छन् । ‘यार्चागुम्बु शुल्क विवाद तथा धो–ताराप हत्यागोलीकाण्ड प्रकरण सार्बजनिक’ गर्न आयोजित पत्रकार सम्मेलनमा डोल्पो सरोकार केन्द्रका उपाध्यक्ष फुर्वा गुरुङ डोल्पोले आफुले देखेको घटना सार्बजनिक गर्दै यस्तो बताएका हुन् । २० गते दिउ“सो बाट शुरु भएको प्रहरी प्रशासनको ज्याजती २१ गते विहानसम्म चल्यो । प्रहरीले राती, दिन नभनी घर गुम्बा नभनी सबैलाइ खोजी– खोजी पिट्ने अनि हिरासतमा राख्ने काम गर्यो । घटनामा धो– ६ का ३० वर्षिय छिरिङ गुरुङ (फर्वा) को मृत्यु भयो ।
त्यस्तै अर्का घाइते दुण्डुप लामाको उपचारको क्रममा ओम अस्पताल काडमाडौंमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । प्रहरीकै गोली काण्डबाट मृत्यु भएका दुबैजनालाई प्रहरीले कालगतिले मरेको भनी स्थानीयलाई मुचुल्का बनाउन लगाइ डराइ–धम्काई सहिछाप गर्न लगाएका थिए । स्थानीयले त्यसो नगरे हिरासतमा रहेका १२ जनालाई नै मृतक दुइजनाको ज्यानमारेको अभियोग लगाउने सम्मको धम्की दिएपछि स्थानीयबाट मुचुल्का उठाइएको थियो । ‘दिस इज नेपाल । इट्स नट योर कन्ट्री, यू नो?’ भन्दै सशस्त्रका प्रहरी निरिक्षक जीवन मल्लले स्थानीयमाथी डण्डा ताक्यो ।’ डोल्पो सरोकार केन्द्रका उपाध्यक्ष फुर्वा गुरुङ डोल्पोले भने । यार्चागुम्बु संकलनका क्रमका धेरै वास्तविक घटनाको छानविन गरि सत्यतथ्य बाहिर ल्याइनुपर्ने तर नआएको पीडीतले न्याय नपाएको, मृतक दुइजना छिरिङ गुरुङ फुर्वा र दुण्डुप लामाको मृत्यु कुकुर वरालो मरे सरह बनाइएको र मुख्य रुपमा दोषी प्रहरी प्रशासनका ब्यक्तिहरुलाई काबार्ही गर्नुपर्ने भन्दै डोल्पो जनजाति विकास केन्द्र तथा डोल्पो सरोकार केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको बताएको छ । ‘अहिलेसम्म कतिपय घाईतेहरुको अवस्था नाजुक छ ।
’विज्ञप्तिमा भनीएको छ । पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गर्दै डोल्पो सरोकार केन्द्र तथा डोल्पो जनजाति विकास केन्द्रले धो–ताराप हत्या गोली काण्डाका मृतक २ को परिवारजन तथा सैयौंको संख्यामा घाईते भएकाहरुको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने तथा अत्याकाण्डमा संलग्नमाथी आवश्यक कारवाहीको लागि एक उच्च स्तरीय स्वतन्त्र आयोग गठन गरिनुपर्ने, डोल्पो क्षेत्रको वातावरण संरषण गर्न र हत्या हिंसा र लुटपाट रोक्न आगामी २०७२ सालदेखि डोल्पा जिल्लाको उत्तरी ७ गाविस डोल्पो क्षेत्रमा बाहिरबाट आउनेलाई यार्चागुम्बु संकलनमा कडाईका साथ प्रतिबन्ध लगाउने, राज्यले संविधान नीति, निर्माण, एैन कानुन् र निर्देशिकाहरु बनाउनपूर्व आइएलओ १६९ को स्वतन्त्र पूर्व सुसूचित मञ्जुरी अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने र विशेष गरी हिमाली जिल्लाहरुमा निजामति कर्मचारी खटाउनुपूर्व त्यहा“को भाषा, धर्म, संस्कृति, ईतिहा“स, मूल्य मान्यता र रीतिथिती आदिको बारेमा प्रशिक्षण दिने व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।
