देब पचभैया
गुल्मी, जेष्ठ २४ गते – नेपाल मगर विद्यार्थी संघ, लुम्बिनी अञ्चल समितिको अन्तरकृया तथा नियमित बैठक शनिबार गुल्मीको सदरमुकाम तमघासमा सम्पन्न भएको छ । बैठकमा समितिले अञ्चलमा गरेका गतिविधीहरुका विषयमा समिक्षा गर्दै आगामी योजनाहरुको समेत तय गरेको छ ।
अञ्चल समितिका अध्यक्ष नविन राना मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रम तथा बैठकले असारको पहिलो हप्ताभित्र जिल्ला समितिले सञ्चालन गर्ने कार्य योजना अञ्चललाई पेश गर्नुपर्ने, विद्यार्थी जागरण अभियान सञ्चालन गर्नुपर्ने, विद्यार्थी सक्रियतालाई थप सशक्त बनाउनुपर्ने, संबन्धित पक्षहरुसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ । त्यस्तै अञ्चलको पाँचौँ नियमित बैठक नवलपरासी जिल्लामा यही आउँदो साउन ३१ गते बस्ने पनि निर्णय गरेको छ । कार्यक्रममा लुम्बिनी अञ्चलभित्रका सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधीहरुले जिल्लामा संगठनले गरेका गतिविधीका विषयमा रिपोर्टिङ्ग गर्नुका साथै आगामी योजनाका विषयमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष बालसिँह काउछा मगरले परिवर्तनका बाहक विद्यार्थीहरु भएकाले साहसिक नेतृत्व लिँदै अगाडी बढ्नुपर्नेमा जोड् दिए । साथै उनले मुलुकको वर्तमान राजनीतिक अवस्थामा मगर समुदायको भूमिकाका विषयमा प्रकाश पार्दै अव बन्ने संविधानमा आफ्ना हक अधिकारहरु स्थापित गर्न मगर विद्यार्थीहरुले पनि भूमिका खेल्नुपर्ने र माथिल्ला संबन्धित निकायहरुका लागि दवाव सृजना गर्न आवश्यक रहेको बताए ।
केन्द्रीय उपाध्यक्ष काउछाले व्याक्ति व्याक्तिमा फरक राजनीति विचारधारा भएपनि मगर समुदायको मुद्धामा सबैको एक रुपता हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै विशेष अतिथि नेपाल विद्यार्थी संघ, रेसुङ्गा क्याम्पसका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सचिव छन्दबहादुर पहराईले विद्यार्थीको भूमिकाले छोटो अवधिमै मुलुकमा धेरै ठूलो फड्को मार्न सक्ने भन्दै संघको भूमिकालाई सशक्त वनाएर लैजानुपर्नेमा जोड दिए । त्यसका लागि जिल्लामा कार्यक्रमहरु बढाउनुपर्ने उनले सुझाव दिए । सिद्धबाबा उच्च माध्यमिक विद्यालयका प्राचार्य तथा नेपाल मगर संघ गुल्मीका सल्लाहकार डोरविक्रम श्रीसले विद्यार्थीहरु हिम्मत गरेर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा मगरात इन्चार्ज विष्णुबहादुर थापा, अर्की केन्द्रीय सदस्य तथा भोजपुरा इन्चार्ज भूमि पुन, केन्द्रीय सदस्य तथा अतिरिक्त विभाग प्रमुख दिपक गरौजा, पुर्व केन्द्रीय सदस्य प्रेम सोमै र रुपन्देहीका पुर्व अध्यक्ष सञ्जिव थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरुको भूमिकालाई थप सक्रिय बनाएर लैजानुपर्नेमा जोड् दिएका थिए । अ
ञ्चल सह–सचिव तथा गुल्मी जिल्ला अध्यक्ष भविन्द्र घर्ति मगरको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तिलक थापाले गरेका थिए ।
