मनोज घर्तीमगर
पोखरा, १६ जेठ –पोखरामा जेठ १७ र १८ गते हुने आदिवासी जनजाति युवा महासंघको तेश्रो महाधिवेशनको तयारी पुरा भएको छ । आदिवासी जनजाति युवाहरुको साझा अभियान, अधिकार र रोजगारीका लागि पहिचान सहितको संघीय संविधान नाराका साथ हुने महाधिवेशनको सञ्चार विशेषज्ञ डा.महाबीर पुनले उद्घाटन गर्ने विहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
२०५५ सालमा स्थापना भएको युवा महासंघको तेश्रो महाधिवेशनमा ५५ जिल्ला र ३१ जातिय युवा संस्थाका ४ सय प्रतिनीधि पर्यवेक्षक सहभागी हुने र आगामी तीनवर्षका लागि नयाँ नेतृत्व गर्ने आयोजक समितिका संयोजक इन्द्र गुरुङले जानकारी दिए । पोखरा १० बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा हुने महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरु जेठ १७ गते पुर्वान्ह ११ बजे लखनचोकबाट झाँकी, बाजागाजासहित, मौलिक भेषभुषामा वृहत र्याली निकालिने भएको महासंघका महासचिव ज्ञानेन्द्र पुनले बताए । उनले र्यालीमा सहभागीताका लागि अनुरोध समेत गरे ।
महाधिवेशनले जातिय पहिचान सहितको संघीयता, जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशीकरण, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख जातिहरुको संरक्षण, सम्वद्र्धन र अधिकार, नेपाल सरकारले आदिवासी जनजातिहरुसाग विभिन्न चरणमा भएका सहमति र सम्झौताहरुको कार्यन्वयन गर्नुपर्ने लगायतका आदिवासी जनजातिहरुको सवाललाई नयाँ बन्ने संविधानमा सुनिश्चित गराउन माग गर्नेछ । यसरी नै आइ एल ओ महासन्धी नं. १६९, युएनड्रिपको पुर्ण कार्यन्वयन गराउन युवाहरु संघर्षरत रहने बताइएको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक इन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका सहसंयोजक रामबहादुर थापामगरले स्वागत र व्यवस्थापन समितिका संयोजक ममिता गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
