देब पचभैया
पाल्पा, बैशाख १४ – जिल्ला प्रशासन कार्यालय पाल्पाले आज जिल्लाका १६ सरकारी कार्यालयमा गरेको अनुगमनमा ४६ कर्मचारी अनुस्थित भएका छन् । अनुगमनको क्रममा केही कार्यालयमा कर्मचारीनै नभेटिएपछि अनुगमनटोलीले जानकारी पाउन समेत मुश्किल परेको थियो ।
कार्यालय प्रमुख देखि कर्मचारीहरु बिना जानकारी कार्यालय नआएको ,काजको स्विकृति नलिएरै फिल्डमा गएको, अधिंकास कर्मचारीले परिचय पत्र र पोषक नलगाएको भेटिएको अनुगमनको नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी शिबराज जोसीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको ५० मिटर नजिकै रहेका जिल्ला बिकास समितिमा २ जना अधिकृत र अन्य ८ कर्मचारी र बिधुत कार्यालयमा ६ जना कर्मचारी अनुपश्थित भेटिएका छन् ।
जिल्ला हुलाकमा ३ जना, जिल्ला मालपोतमा ३ जना, जिल्ला स्वाथ्यमा ३ जना, जिल्ला प्राबिधिकमा २ जना अधिकृत र ७ जना कर्मचारी , जिल्ला शिक्षामा ६ कर्मचारी, कृषि बिकास कार्यालयमा एक अधिकृत र एक कर्मचारी अनुपश्थित भेटिएका छन् ।
पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन ज्ञवालीका अनुसार शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालमा एक अधिकृत र एक कर्मचारी, पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नम्बर ३ मा २ अधिकृत सहित ८ जना कर्मचारी अनुपश्थित भेटिएका छन् ।
डिभिजन सडक कार्यालका भएको दरबन्दीको चारै जना कर्मचारी नभेटिएपछि अनुगमन टोलीले अन्य जानकारी लिनै नपाएको ज्ञवालीले बताए । अधिकांश कार्यालयका कर्मचारीहरु ५ दिन देखि नै बिदा बिनालै अनुपस्थित भेटिएका छन् भने केही कार्यालयका कर्मचारीले भोलिको हाजिर पनि आजै गरेका छन् ।
प्रुमख जिल्ला अधिकारी जोसी र सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीको टोलीले छुट्टा छुट्टै रुपमा अनुगमन गरेको थियो । कर्मचारी अनुपश्थितको बारेमा कार्यालय प्रमुखसंग जानकारी मागेर आबश्यक कारबाही अगाडि बढाईने प्रमुख जिल्ला अधिकारी शिब राज जोसीले बताए ।
