पोखरामा हुने जनजाति विद्यार्थी महासंघको राष्ट्रिय महाधिवेशनलाई भव्य बनाईने

Read Time:6 Minute, 14 Second

देब पचभैया

पोखरा, १२  बैशाख -आउदो जेठ १० देखि १२ गतेसम्म पोखरामा हुने नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको पाँचौ केन्द्रीय महाधिवेशनमा कस्केली राजनितिक दल र विभिन्न संघ संस्थाले भव्य बनाउने उद्घोष गरेकाछन् ।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ तमुवान प्रादेशिक समन्वय समितिले पोखरामा आयोजना गरेको सर्वपक्षिय छलफल कार्यक्रमका वक्ताहरुले यस्तो उद्घोष गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले आदिवासी जनजातिको आन्दोलनलाई सशक्त बनाउन महाधिवेशन सार्थक बन्ने विश्वास व्यक्त गर्दै कस्केली आदिवासी जनजाति संघ संस्थालाई सहयोगको निम्ति समन्वय गर्ने बताए । उनले विगतमा आदिवासी सँग गरिएको सम्झौता समेत कार्यन्वयनमा नल्याएकाले ती सम्झौतालाई कार्यन्वयन गर्दै अधिकार सुनिश्चित गराउन विद्यार्थीहरु आन्दोलित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले तमुवानको राजधानी पोखरामा हुने आदिवासी जनजाति विद्यार्थीको महाधिवेशनले  विगतदेखि उत्पिडनमा परेका आदिवासी जनजातिको अधिकारमुखी आन्दोलनलाई सार्थक बनाउन पहल गर्ने विश्वास व्यक्त गर्दै महाधिवेशनलाई भव्य बनाउन साथ सहयोग रहने बताए ।

एकिकृत नेकपा माओवादी कास्कीका सहसचिव धर्मबहादुर तमुले पोखरामा हुने महाधिवेशनलाई आन्दोलनको रुपमा अघि बढाउनुपर्ने सुझाव दिदै आगामी नेतृत्व पहिचानका योद्धालाई बनाउनुपर्छ भने । उनले पहिचान सहितको संघीयता निर्माणलाई सुनिश्चित बनाउने उद्धेश्यका लागि महाधिवेशनलाई अघि बढाए आर्थिक, भौतिक, नैतिक मात्रै नभएर रगत समेत बगाउन तयार रहेको उद्घोष गरे ।

संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङले पहिचान जनताको नैसर्गिक अधिकार भएकाले पहिचान सुनिश्चित गर्न दवाव सिर्जना गर्ने महाधिवेशनलाई भव्य र सभ्य बनाउन पार्टीको तर्फबाट साथ सहयोग रहने बताए । उनले अहिले पनि राजनीतिक दलहरु, सञ्चार माध्यमहरु पहिचानका विरुद्ध लागिरहेको छ, भोलि फेरि पहिचान विरुद्धको संविधान जारी भए लखनचोकमा जलाइने चेतावनी दिदै, अधिकार प्राप्तिका लागि विद्यार्थीहरु आन्दोलित हुनुपर्नेमा जोड दिए । 

आदिवासी जनजातिका विभिन्न संघ संस्था एवं महानुभावहरुले पहिचानको आन्दोलनलाई थप उचाईमा पुर्याउन सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ कास्कीका सचिव एवं हयोल्मो समाजका प्रतिनीधि पुर्ण ह्योल्मो, नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगर, तामाङ घेदुङ कास्कीका अध्यक्ष सुवेदार हरीमान तामाङ, फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष भिमबहादुर तमु, तमु छोंज धिं कास्कीका विजय तमु, आदिवासी जनजाति युवा महासंघका केन्द्रीय सचिवालय सदस्य ममिता तमु, भुजेल समाज कास्कीका अध्यक्ष बिलबहादुर भुजेल, तमु विद्यार्थी छों धिंका पुर्व सचिव केवी तमु, आदिवासी जनजाति युवा महासंघ कास्कीका अध्यक्ष रामबहादुर थापामगर, नेवा विद्यार्थी दबुका केन्द्रीय कोषाध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ लगायतले महाधिवेशन पहिचानमुखी आदिवासी आन्दोलनलाई सशक्त बनाउन सार्थक रहने भन्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रुद्र श्रीसमगरको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल आदिवासी जनजाति युवा महासंघका केन्द्रीय अध्यक्ष नरबहादुर तमुले महाधिवेशनको तयारीका बारेमा जानकारी गराएका थिए भने दुर्गा तमुले स्वागत र फरेन्द्र थापामगरले सञ्चालन गरेका थिए ।

यसैविच महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीको संयोजकत्वमा विभिन्न आदिवासी संघ संस्था र अगुवाहरुको रहेको २७ सदस्यीय सहयोग समिति, विद्यार्थी महासंघका अध्यक्ष नरबहादुर तमुको संयोजकत्वमा १२१ सदस्यीय मुल आयोजक समिति, रुद्रबहादुर श्रीसमगरको संयोजकत्वमा व्यवस्थापन समिति र एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %