देब पचभैया
पाल्पा ७ बैशाख – भुमि अधिकार मञ्च पाल्पाले सुरक्षित घरवास सवैलाई, खेतीयोग्य जमिन जोताहा किसाना लाई दिनुपर्ने माग राखेका छन ।
जिल्लाका भुमिविहिनहरुले सवै जनतालाई गास, वासको व्यबस्था सरकारले अनिवार्य रुपमा गर्नुपर्ने अन्यथा भुमिहिन किसानहरु आन्दोलनमा उत्रिने बताएका छन । जिल्लाका भुमिहिनहरुले सरोकारवाला पक्षहरु संग तानसेनमा अन्तरकृया गर्दै दर्ता छुट, सुकुम्वासी, अव्यबस्थित बसोवास, गुठी र मोही जग्गाहरु लाई व्यस्थित गर्दै किसानहरु लाई जमिन वितरण गर्न माग राखेका छन ।
पाल्पाको तानसेन नगरपालिका वडा नं ९ र १४ मा १९१ घरपरिवार, चिरतुङ्गधारा गाविसमा ५० घरपरिवाहरुले दर्ताछुट जग्गामा जोतभोग तथा बसोबास गर्दै आएको, तानसेन नगरपालिका ५६ घरपरिवार सुकुम्वासी बसोबास रहेको, पाल्पामा २१ वटा राजगुठी र ३१ वटा निजी गुठीमा जोताहा किसानले मोही हक पाउने व्यबस्था भएपनि किसानहरुले मोही हक बाट बञ्चित भएको र खेतियोग्य जमिन घडेरीमा प्लटिङ्ग भएकोले व्यस्थित रुपमा काम गर्न भुमि अधिकार मञ्च पाल्पाले माग गरेको छ ।
मञ्चले बर्षाैदेखी अधियामा काम गर्दै आएका किसानको लागत संकलन गर्नुपर्ने, उनीहरु लाई मोहीयानीहक कायम गर्नुपर्ने, दर्तावाला मोही लाई जग्गाको व्यबस्था गर्नुपर्ने, जिल्लामा अधिकार सम्पन्न भुमि आयोग गठन गरी नापि गर्ने, फिल्ड बुक तयार गर्नुपर्ने, सम्पुण गुठी जग्गा रैतानी हुने व्यबस्था संविधानमै उल्लेख गर्नुपर्ने, सुकुम्वासी समस्या समाधान आयोग गठन गरी सुकुम्वासीहरु लाई जग्गाधनी प्रमाणपत्र दिनुपर्ने, सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई तत्काल कारवाही गर्नुपर्ने, जग्गा प्लटिङ्ग गरी घडेरीको रुपमा बेचविखन गर्न रोक लगाउनु माग राख्दै आएको छ ।
छलफल कार्यक्रममा मञ्चका केन्द्रिय महासचिव ल्याम बहादुर दर्जिले देशभरीमा १४ लाख घरपरिवार जग्गा, बास विहिन भएकोले जो जहा बसेको छ त्यहीको जग्गा लाई लालपुर्जा दिनुपर्ने, संविधानमा भुमिहिनको अधिकार उल्लेख हुनुपर्ने बताउदै अहिले ५३ जिल्लामा मञ्च गठन गरेको बताए ।
कार्यक्रममा सहजकर्ता सुभराज चौधरी, जगत बहादुर देउजाले भुमिअधिकारको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा राजनितिक दलका नेताहरु, पत्रकार, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, मालपोत प्रमुख नवराज बराल लगायतको सहभागिता रहेको थियो । मञ्चका अध्यक्ष रोम बहादुर रानाको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव लक्ष्मी श्रेष्ठले गरेकी थिईन ।
