देब पचभैया
नवलपरासी , बैशाख ३ – बेचविखन गर्न लगेको आशंकामा नवलपरासीको सिमा नाका बाट ११ जना महिलाहरुको उद्धार गरिएको छ ।
सदरमुकाम परासीको बाटो हुदै महेशपुर नाका बाट सिमा पार गरेर गएका उनिहरुलाई भारतको ठुठिबारी स्थित एसएसवि फोर्सले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कृष्ण बहादुर के.सी.ले बताए । उद्धार गरिएकामा २२ देखि ४४ वर्ष सम्मका छन् । उनिहरुलाई ठुठिबारीको निचलौल बसपार्क वाट गोरखपुर जादै गर्दा उद्धार गरिएको हो ।
भारतका विभिन्न स्थानमा काम लगाई दिने भन्दै उनिहरुलाई लिएर जाने पोखरा उप महानगरपालिका चिप्लेढुङाका प्रकाश गिरी भने फरार रहेको प्रहरीले जनाएको छ । महिलाहरुका अनुसार—सिमा नाका पार गर्नु अघि गिरी वसको टिकट काट्नु पर्छ भन्दै एक घण्टा अघि नै भारत गईसकेको र वस पार्कमा केहि घण्टा कुर्दा समेत आएका थिएनन ।
एकै पटक धेरै महिलाहरुलाई आएको देखेपछि एसएसविले सोधपुछ गर्ने क्रममा आफुहरु ठुठिबारीमा किनमेलका लागि आएको बताएका थिए । तर किनमेल नगरी निचलौल वस पार्कमा कसैलाई खोजि रहेको देखेपछि शंका लागेर सोधपुछ गर्ने क्रममा काममा लगाई दिने भन्दै आफु संग आएको व्यक्ती फरार भएको बताएपछि प्रहरीले उनिहरुलाई उद्धार गरि नेपाल प्रहरीलाई बुझाएको थियो । उद्धार गरिएकामा नवलपरासी, पोखरा, उदयपुर, सिन्धुली, मकवानपुर र गोरखाका रहेका छन् ।
उनहिरु सवैलाई माईति नेपाल भैरहवाको जिम्मा लगाइएको नवलपरासी प्रहरीले जनाएकोछ ।
