निरज पिठाकोटे
वीरगंज, चैत २९ – वीरगंजका २१ जना सडक बालबालिकालाई कपडा वितरण गरिएको छ ।
अन्तराष्ट्रिय सडक बालबालिका दिवसको अवसरमा आवर संसार नामक गैर सरकारी संस्थाले होटल सम्झनामा गरेको कार्यक्रममा २१ जना सडक बालबालिकालाई कपडा वितरण गरेको हो । अनाथ र असाहय बालबालिकालाई पर्साको बाराको लिपनीमाल गविसको संरक्षण गृह बनाएर १० जना अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिदै आएको संस्थाले सडक बालबालिकालाई एक सेट कपडा वितरण गरेको हो ।
संस्थाका अध्यक्ष राजेश साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बाल कल्याण समितिकी बाल अधिकृत सावित्री भण्डारीले अनाथ बालबालिकालाई कपडा प्रदान गर्दै कुनै पनि बालबालिका रोग, भोकबाट बचाउन सकेमा उनीहरु भविष्यमा देश विकासको लागि जनशक्तिको रुपमा विकास हुने बताईन् ।
कार्यक्रममा संस्थाका महासचिव मुकेश साह, स्थानीय अग्रसरतामा सहयोग कार्यक्रम (लीड्स) का उपाध्यक्ष वृजकिशोर यादव, समाजसेवी श्रीमति उषा साह लगायतकाले सडक बालबालिकालाइ माया र स्नेहको खाचो रहेको बताएका थिए ।
कविता पोखरेलले संचालन गरेको कार्यक्रममा आवर संसारका संयोजक संतोष घिमिरे, लिड्सका सम्झना थापा, विजय कुश्वाहा अञ्जु राना मगर, रेनुका थापा मगर लगायतले बालबालिकाको अधिकारको बारेमा धारणा राखेका थिए ।
