भैरब आङ्ला, धरान
सप्तरीको जमुनिमधेपुरा स्थित थलही गाउमा दिउसो भिषण आगलागी भएको छ ।
आगलागीमा सय भन्दा बढी घर जलेर खरानी भएका छन् । आगोमा परी एक अढाइ बर्षिय बालिकाको ज्यान गएको छ । अन्य दुई बालबालिका हराइरहेका छन् । जलेर ज्यान जानेमा थलही टोलका मोहम्मद असलमकी अढाई बर्षिय छोरी रुक्सार खातुन रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार बैदवारले बताए ।
आगलागी भएका वेला रुक्सारकी आमा खेतमा काम गरिरहेको हुनाले उनलाई बचाउन नसकिकएको स्थानीयले जानकारी दिएका छन । उनका वुवा असलम रोजगारीका लागि विदेशमा हुनुहन्छ । दिउसो डेढ बजेतिर स्थानिय मोहम्मद सलामतको घरवाट सल्केको आगोले सिंगो गाउनै जलेर खरानी बनाएको स्थानीयले बताएका छन । अधिकांश घरधनीहरु गहु काट्न खेततिर गएको समयमा आगलागी भएकाले घरबाट केही पनि निकाल्न नसकिएको पीडितले बताएका छन् ।
थलही गाउका अधिकांश युवा वैदेशिक रोजगारमा छन् । आगलागिवाट डेढ करोड भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो लागेको ठाउ सदरमुकाम राजविराज भन्दा ५ किलोमिटर उत्तर पश्चिममा रहेको छ । यसैबिच तेह्रथुमको ओयाक्जुङ्ग– ५ मालबाँसेका प्रेम कार्कीको घरमा आगलागी हुदा नगद र सुनचाँदीका गरगहना गरी ७४ लाख २३ हजार बरावरको धनमाल नष्ट भएको छ ।
आगलागीमा ६० तोलाको सुनको थाली, ६ तोला गहना र ५ सय तोला चाँदी जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जुगेश्वर राउतले जानकारी दिएका छन् । उनका अनुसार आगलागीमा नगद ३ लाख रुपैयाँ समेत जलेको छ । आगलागीमा १ सय मुरी धान, ३ मुरी चामल, १ थान टेलिभिजन, डिक्स, लत्ताकपडा, भाडाकुडा, काठ, नगद, सुनचाँदी र घर गरी ७४ लाख २३ हजार रुपैयाँ बरावरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगालागीमा बेलायति सेनाबाट अवकाश हुँदा हङ्ङ्गबाट बाबुले ल्याएको ६० तोला तौलको सुनको थाली जलेको प्रेमबहादुरले बताए । बेलायति गोरखा सैनिकमा कार्यरत प्रेमबहादुरका बावु पदमसिंह कार्की हवल्दार मेजर पदबाट अवकास पाएका थिए । ३५ बर्ष अघि सेवावाट अवकास पाएका पदमसिंहको २२ बर्ष अघि निधन भएको थियो । जलेर भग्नावशेष भैसकेको घरमा सुन र चाँदीको गहना फेला पार्ने आशामा अहिले पिडित परिवार छिमेकीको सहयोगमा जलेको घर उत्खनन गरिरकेका छन् । घर जले पनि सुन र चाँदी फेला पर्छ भन्ने आशामा भग्नावशेष घरको ढुंगामाटो पन्छाउने काम भैरकेको प्रेमबहादुरले बताए ।
