मनोज घर्तीमगर
पोखरा, २८ चैत – पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा शुक्रवारदेखि स्थानीय बसुन्धरा पार्कमा ११ औं फेवा नव वर्ष महोत्सव २०७१ सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई मुख्य केन्द्रमा राखी संघले यो महोत्सव आयोजना गरेको हो ।
वैशाख दुई गते सम्म चल्ने महोत्सवमा खानाका १२ तथा अन्य वस्तु तथा सेवाका ३५ गरी कूल ४७ वटा स्टल रहेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए । फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्धेश्य समेत लिएको महोत्सवको क्रममा आउने पाहुनालाई संघले होटलको आवासमा १५ प्रतिशत छुटको पनि व्यवस्था गरेको महोत्सव संयोजक भरतराज पराजुलीले जानकारी दिए । महोत्सव अघि पोखरा विमानस्थलदेखि वसुन्धरा पार्कसम्म विविध सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भी आचार्यले नेपाली हवाई क्षेत्र अद्यापि कालो सूचीमा रहँदा नेपाल आउने विदेशी पर्यटकको संख्या घटेको बताए । मन्त्री आचार्यले कालो सूचीबाट देशलाई हटाउने विषयमा समेत सरकार गंभीर भएको भनाई मन्त्री आचार्यले व्यक्त गरे ।
पर्यटन मन्त्रालयले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरिसकेको जानकारी दिंदै उनले अव ठेकेदार कम्पनी र चिनिया बैंकसँग सम्झौताको काम बाँकी रहेको र त्यो छिटै हुने बताए । तर कति समय भित्र त्यस्तो सम्झौता गरिन्छ भन्ने विषयमा उनले केही प्रष्ट्याएनन् । विमानस्थल निर्माण अघि मुअब्जा दिन बाँकी साडे पाँच सय रोपनी भन्दा बढी जग्गाको मुअब्जा वितरण छिटै सुरु हुने भनाई पनि उनले राखे । आफूलाई पोखरामा विमानस्थल नबनाउन र योजना भाँड्नका लागि ठूला ठूला अफर आएको तर आफूले सहासिक निर्णय लिएर बनाउने निर्णय गरेको बताए । अहिले सम्म विमानस्थल बनाउने काम नेपाली पक्षकै कारण रोकिएको बताउँदै उनले अव स्थानीय स्तरमा पनि झगडा नगरी एकता प्रस्तुत गर्न उनले आग्रह गरे ।
विमानस्थल बनाउन पर्यटन मन्त्रालयले २१ अर्व रुपैयाँ हाराहारीमा चिनको सीएएमसी कम्पनीलाई ठेक्का दिने निर्णय गरेको हो । आबश्यक रकम भने त्यहीको एक्जिम बैंकले दिने उनले सुनाए । सफ्ट लोनको रुपमा प्राप्त हुने पैसालाई पछि अनुदानमा बदल्ने प्रयास गरिने पनि मन्त्री आचार्यले बताए ।
भैरहवामा गौतम बुद्ध विमानस्थल बनाउने काम अगाडि बढाउन एडीवीका मानिस छलफलका लागि नेपाल आउने तयारी गरिरहेको उनले बताए । निजगढको विमानस्थल बनाउन लागि लगानीकर्ता खोजी भइरहेको जानकारी पनि उनले दिए । पोखराको फेवा तालको संरक्षणका लागि आफूले टास्क फोर्स नै बनाएर काम अगाडि बढाउने शोच बनाएको पनि उनले बताए ।
पश्चिमाञ्चल क्षेत्रलाई मन्त्री आचार्यले नेपालमै सबैभन्दा धेरै सिण्डिकेट विद्यमान रहेको क्षेत्रको रुपमा व्याख्या गरे । हरियो प्लेटका पर्यटन सवारीमा नेपाली चढ्दा रोक्ने र मुस्ताङमा बाटो छेकेर हरियो प्लेटका सवारी रोकी पर्यटक ओरोलेर दुःखदिने कार्य विरुद्ध जनता समेत एक हुनुपर्ने भनाई उनको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यवहादुर भुजेलले नेपाल पर्यटन बोर्डमा तत्काल सीइयो नियुक्त गर्न माग गर्दै वोर्डका वर्तमान कर्मचारी सुवास निरौलालले मनोमानी ढंगले बजेट दुरुपयोग गरेको आरोप लगाए । कार्यक्रममा सभासद रविन्द्र अधिकारी, अर्क सभासद शारदा पौडेल, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी लगायतले पोखराको विकास बारे भनाई राखेका थिए ।
