मनोज घर्तीमगर
पोखरा, १९ चैत्र – पोखरेली गायक एवम् संगीतकार सुन्दर थापाको विहिवार पोखरामा शव यात्रा निकालिने भएको छ । बुधवार राती शव ल्याई विहान बाटुलेचौरमा श्रद्धाञ्जली गरिने कार्यक्रम छ । विहान ११ बजेपछि शव यात्रा निकालीने परिवारले जनाएको छ ।
लामो समयसम्म चीनमा व्यवसाय गर्दै आएका थापाको ४१ वर्षको उमेरमा चीनमै उपचारको क्रममा निधन भएको थियो । ज्वरो आएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका थापाको चैत १३ गते निधन भएको हो । पोखराको बाटुलेचौरमा जन्मिएका थापाले आधुनिक तथा पप विधाका थुप्रै गीतमा आवाज र संगीत भरेका छन् । उनी एनआरएन चीनमा समेत आवद्ध थिए ।
थापाको ‘म त भने मायाले मर्ने …’बोलको गीत चर्चित छ । त्यस्तै थापाको संगीत र कर्णदासको स्वरमा रहेको व्यर्थै फेरि घाइते मुटु बोलको गीत समेत स्रोताले अत्यन्तै मन पराएका छन् ।
