मनोज घर्तीमगर
पोखरा, १९ चैत – लेखनाथ नगरपालिका, हंसपुर गाविस र रुपाकोट गाविसको संगमस्थल उपल्लो तालवेशीमा चैत २५ र २६ गते चैते दशैं मेला हुने भएको छ ।
संगम युवा क्लवको आयोजनामा हुने उक्त मेलामा भलिवल प्रतियोगिता, ठेलो प्रतियोगिता, महिला पुरुष रस्साकसी प्र्रतियोगीता, एकल नृत्य प्रतियोगीता, घैंटो फुटाउने प्रतियोगीता हुने क्लवका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । मेलामा पोखरेली धुर्मुस र माग्ने बुढाको हास्यव्यङग्य प्रस्तुति, गण्डकी तारा मनोज गुरुङ र सराङकोट तारा सरुन गुरुङको सांगीतिक प्रस्तुति लगायत विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने उनले जानकारी दिए ।
भलिवल प्रतियोगीतामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद रू. २० हजार र रू. १३ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका सल्लाहकार लेख गुरुङले बताए । त्यसैगरी ठेलो हान्ने प्रतियोगीतामा प्रथम हुनेलाई रू.२ हजार ५ सय, एकल नृत्य प्रतियोगीतामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः रू.४ हजार, रू.२ हजार ५ सय र रू.१ हजारको साथमा प्रमाणपत्र र रस्साकसीमा प्रथम हुने समुहले रू. २ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले बताए ।
अध्यक्ष सुवेदीले भने, लेखनाथ नगरपालिका–१०, हंसपुर गाविस–९ र रुपाकोट गाविस–३ को संगमस्थल उपल्लो तालवेसीमा परम्परादेखि नै चल्दै आएको चैते दशैं मेलाको साँस्कृतिक महत्वलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मेलाको तयारीको लागि प्रचारप्रसार तीव्र पारिएको छ ।
