फेवा महोत्सवको तयारी तीव्र

Read Time:3 Minute, 41 Second

मनोज घर्ती मगर

पोखरा, ५ चैत – फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ पर्यटन, संस्कृति र खानाको पक्षलाई जोड दिएर पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गर्न लागेको ११ औं फेवा नव वर्ष महोत्सव २०७१ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित यही चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म पोखराको वसुन्धरा पार्कमा संचालन हुने महोत्सवका अवसरमा आन्तरिक पाहुनालाई लक्षित गरी संघले आवासमा १५ प्रतिशत छुटको पनि व्यवस्था गरेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले वुधवार पत्रकार सम्मेलनमा जानकारी दिए । संघले १२ वर्ष अघि आन्तरिक पर्यटन प्रवद्र्धन अभियान संचालन गर्दा पोखरामा आन्तरिक पर्यटकको अकुपेन्सी दर दुई प्रतिशत मात्र रहेकोमा अहिले त्यो बढेर ३० प्रतिशत पुगेको तथा आगामी २०१५ सम्म यसलाई ५० प्रतिशत पुर्याउने अभियानमा संघ रहेको शर्माले बताए ।

महोत्सवमा करिव दुई लाख पर्यटकले सहभागिता जनाउने महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । आन्तरिक पर्यटकको लागि संचालित जाउँ है पोखरा र भारतीय पर्यटकका लागि लक्षित गरी संचालित चलिए पोखरा अभियानले समेत पोखरामा पर्यटक आमगमन दर बढ्दै गएको सुनाए । नेपाल र भारत बाहेक अन्य मुलुकमा संचालित पोखराः प्युर एण्ड पर्फेक्ट अभियानको असर पनि धेरै सकारात्मक रहेको संयोजक पराजुलीले स्मरण बताए ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने गरिएको छ । यही सन्दर्भमा नेपाली नयाँ वर्षलाई पनि उत्तिकै महत्वका साथ प्रचारप्रशार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्धेश्यका साथ आयोजना हुने यो महोत्सवको टिकटबाट संकलित रकम मध्ये केही रकम फेवा तालको संरक्षणको लागि समेत संघले छुट्याउने संघका महासचिव लक्ष्मण सुवेदीले बताए ।  

संघले दैनिक दुई वटा डुंगा र ग्रिन क्लिन पोखरा मुभमेण्टसँग मिलेर माशिक दुई जना कर्मचारी पनि ताल संरक्षणकै लागि खटाइरहेको जनाएको छ । महोत्सवमा खानाका करिव डेढ दर्जन स्टल र तीन दर्जन अन्य विभिन्न खालका पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु रहने छन् । महोत्सवबाट अनुमानित ४१ लाख १५ हजार रुपैयाँ आम्दानी र ३९ लाख १५ हजार रुपैयाँ खर्च भई दुई लाख ३५ हजार रुपैयाँ वचत हुने अनुमान गरिएको छ ।

महोत्सवका अवसरमा लोकदोहोरी, कन्सर्ट, बालउद्यान, पर्यटक दौड र हास्यव्यंग्यका कार्यक्रम समेत समेटिने संघले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %