बुद्ध मावलि देवदह वनमा ठगहरूले ठगे

Read Time:6 Minute, 23 Second

गोविन्द घर्ति

देवदह चैत्र २ – रुपन्देहीको देवदह २ र ३ मा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समुहमा आर्थिक अनियमितता भएको खुलासा भएको छ ।

 

समुहको अनुगमन समितिले आर्थिक हिसाव किताव खोज्ने क्रममा उक्त अनियमितता भएको खुलासा भएको हो । बुद्ध सामुदायिक वनबाट करिव ३० लाख बरावरको काठ दाउरा निकासी गरी विक्रि वितरणबाट आएको रकम मध्येबाट करिव ३ लाख रुपैया अनियमिता भएको अनुगमन समितिका संयोजक शंकर बोहोराले बताए । विल भर्पाई हेर्ने क्रममा आम्दानी खर्चको हिसाव दुरुस्त नराखेको कारण शंका गरी सवै विल भर्पाइ हेर्दा ठूलो मात्रा रकम अपुग भएको संयोजक बोहोराको भनाई रहेको छ ।

विल भपाई हेर्ने क्रममा बढि मुल्यमा काठ दाउरा विक्रि गर्ने र कम मुल्य विलमा देखाउने गरेको समेत खुल्न आएको बोहोराको भनाई रहेको छ । उपभोक्तालाई दिने रसीदमा एउटा मुल्य लेख्ने र समुहमा राख्ने अर्धकट्टीमा अर्को मुल्य उल्लेख गर्ने गरेको पाईएको संयोजक बोहोराले बताए । हिसाव किताव खोज्दा कार्यसमितिका पदाधिकारीहरुले एकले अर्कालाई दोष लगाएर चोखिन खोजेको पाईन्छ । बुद्ध सामुदायिक वनको कार्ययोजनामा एक बर्षपछि मात्र काठदाउरा निकासी गर्ने उल्लेख गरिएपनि ईलाका वन कार्यालयको मिलोमतोमा ठूलो परिणामको काठदाउरा निकासी गरी अनियमिता गरेको भेटिएको छ । अहिलेको देखिएको अनियमिताको मुद्दा समुहमा नै मिलाउन वन कार्यालयले दवाव दिईरहेको उपभोक्ताहरुको भनाई रहेको छ ।

आफुहरुको सोझोपनको फाईदा उठाउदै समुहका केही पदाधिकारीहले आफुहरुलाई फसाउन खोजेको समुहका सचिव सावित्री सारु मगरको भनाई रहेको छ । समुह दर्ता गर्नेक्रममा लालपुर्जा भएको उपभोक्ता भन्दै आफुहरुलाई जवरजस्ती कार्यसमितिमा बस्न वाध्य बनाईएको सचिव सारु मगरको दावी रहेको छ । आर्थिक पारदर्शिता नभएको र आफुहरुलाई फसाउन खोजेको थाहा पाएपछि गत असारमा राजिनामा दिएपनि पटक पटक बोलाउने र नगएमा धम्कि समेत दिने गरेको सारुको भनाई रहेको छ ।

जिम्मेवारी अनुसार काम गर्न नदिएको र निकासी गरेको काठदाउराको विल समुहका केही पदाधिकारी र सदस्यहरुले आफुखुसी काट्ने गरेको कारण हिसावमा समस्या आएको समुहका कोषाध्यक्ष सरस्वती पुन मगरको भनाई रहेको छ । केही व्यक्तिहरुले कार्यालयमा रहेका विलभपाई समेत समितिका केही मानिसहरुले च्यातेर सोको सट्टा अर्को विलभपाई मिलाउने काम गरेको कोषाध्यक्ष पुनको दावी रहेको छ । हिसाव कितावमा समस्या भएको समुहका अध्यक्ष यमलाल तिवारीले स्वीकारे । आफुले नियमित रुपमा हिसाव नहेर्दा अनियमितता भएको अध्यक्ष तिवारीले बताए ।

योजना अनुसार काठदाउरा निकासी गर्न नपाईने भएकोले बैकमा रकम जम्मा नगर्ने सल्लाह भएको हुदा सो सल्लाह अनुसार व्यक्तिसंग रकम रहेको तिवारीले बताए । सामुदायिक वनको हिसाव किताव नमिलेकोमा पदाधिकारीले तिर्नु पर्ने समुहका सल्लाहकार दल बहादुर पाईजाले बताएका छन् । आफुसंग वन सम्वन्धी बढिज्ञान भएको बताउदै उनले नियतवस आर्थिक अनियमितता गरेकोले त्यसको कार्वाही भोग्नु पर्ने दावी गरे । नियमित गस्ती जाने गरेको तर बुद्धसामुदायिक वनमा अनियमितता भएको जानकारी नरहेको ईलाका वन कार्यालयका प्रमुख वलराम पोखरेलको भनाई रहेको छ । बुद्धसामुदायिक वनले काठदाउरा निकासी गरी विक्रि वितरण गर्न पाउने अवस्था नरहेको कारण अनियमितता बुझेर कानुनी कार्वाही गर्ने पोखरेलको भनाई रहेको छ ।

एकातिर १७ लाख रुपैयाको काठदाउरा निकासी गरी विक्रि वितरण गरेको सामुदायिक वनले स्वीकार गरेको अवस्थामा समेत ईलाका वन कार्यालय भने आफुहरुको समेत पोल खुल्ने डरले जानकारी नभएको भन्दै आलटाल गरिरहेको सरोकारवालाहरुको भनाई रहेकोछ । सामुदायिक वनमा हुने आर्थिक अनियमिततामा गाउ वन समन्वय सञ्जाल देवदह मध्यस्तकर्ताको रुपमा रहने गरेको पाईन्छ । बुद्ध सामुदायिक वनको हिसाव मिलान गर्नको लागि ५ सदस्यी समिति बनाएर हेर्दा समेत करिव ३ लाख रुपैया अनियमितता भएको पुष्टि गरेको छ । गाउ वन समन्वय सञ्जालले ६ वटा सुझाव सहीत अनियमितता भएको रकमलाई व्यक्तिको जिम्मा भन्दै ७ दिन भित्र बैकमा जम्मा गर्न निर्देशनात्मक प्रतिवेदन तयार गरेको छ । देवदहको वन क्षेत्रबाट हरेक बर्ष ठूलो परिणाममा काठदाउरा निकासी हुदा समेत सम्वन्धीत निकायले कुनै चासो देखाएको देखिदैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %